काठमाडौं । प्रभु बैंक लिमिटेडले विपद्बाट प्रभावित परिवारलाई आश्रय दिइरहेको काठमाडौंस्थित पहेंलो गुम्बालाई ६ थान दुईतल्ले खाट (बंक बेड) हस्तान्तरण गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गुम्बामा आश्रित प्रभावित परिवारको तत्कालीन आवश्यकतालाई ध्यानमा राख्दै बंक बेड उपलब्ध गराएको जनाएको छ। यस सहयोगबाट राहत तथा आश्रयस्थलमा बसोबास गरिरहेका परिवारलाई सहजता पुग्ने बैंकको विश्वास छ।

ADVERTISEMENT

यसअघि पनि प्रभु बैंकले बाढीका कारण प्रभावित तथा घरबारविहीन परिवारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको थियो। बैंकका सञ्चालक तथा कर्मचारीले स्वेच्छिक रूपमा संकलन गरेको ४० लाख ८० हजार ५० रुपैयाँसमेत उक्त कोषमा प्रदान गरिएको बैंकले जनाएको छ।

ADVERTISEMENT

त्यस्तै, बाढी प्रभावित परिवारका लागि बैंकले जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग पनि हस्तान्तरण गरेको थियो।

घाइते तथा प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले बैंकले देशका सातै प्रदेशमा देशव्यापी रक्तदान कार्यक्रमसमेत सञ्चालन गरेको जनाएको छ।

ADVERTISEMENT

प्रभु बैंकले प्राकृतिक विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सम्पर्कविहीन नागरिकको शीघ्र उद्धार र घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ।

बैंकले विपद्को कठिन अवस्थामा प्रभावित नागरिक तथा समुदायको राहत, उद्धार र पुनर्स्थापनाका प्रयासमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।