काठमाडौँ । मुलुकबाट गएको एक वर्षमा खाना पकाउने एलपी ग्यासको आयातका लागि साढे ६२ अर्ब रुपैयाँ बाहिरिएको छ।
भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१÷८२ मा ६२ अर्ब ५५ करोड रुपैयाँ बराबरको ५ लाख ४० मेट्रिक टन ग्यासको आयात भएको हो ।

अघिल्लो आव २०८०÷८१ मा ५५ अर्ब ६१ करोड ८४ लाख रुपैयाँको पाँच लाख २४ हजार मेट्रिक टन ग्यास आयात भएको थियो । एक वर्षको अवधिमा सात अर्ब रुपैयाँ बराबरको ग्यासको बढी आयात भएको तथ्याङ्कले देखाएको छ ।

ADVERTISEMENT

बजारमा ग्यासको माग बढी खपत बढ्दा आयात समेत बढ्दै गएको हो ।आर्थिक वर्ष २०७९÷८० मा ५३ अर्ब  रुपैयाँ  बराबरको पाँच लाख १२ हजार मेट्रिक टन ग्यास आयात भएको छ । नेपाल आयल निगमका प्रवक्ता मनोज कुुमार ठाकुरले ग्यासको खपत बढेसँगै आयात बढ्दै गएको जानकारी दिनुभयो ।

पछिल्लो समय सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रमा ग्यासको प्रयोग बढ्न थालेपछि आयात पनि बढ्दै गएको उहाँको भनाई छ । घरायसीसँग औधागिक प्रयोजनमा समेत ग्यासको खपत धेरै हुने गरेको छ ।
ग्यासभन्दा बिजुली सस्तो पर्ने हुँदा पछिल्लो समय विद्युतीय चुलो (इन्डक्सन) को प्रयोग बढ्दै गएको पाइन्छ । तर विजुलीको भर नहुुँदा ग्यासको प्रयोग बढी हुने गरेको छ । मुलुकमा खपत ७० प्रतिशत परम्परागत दाउरा, गुइँठा, बायोग्यास, ३० प्रतिशत ग्यास कोइला, बिजुलीबाट हुन्छ ।

ADVERTISEMENT

राष्ट्रिय जनगणना २०७८ अनुसार मुलुकभर ४४ प्रतिशत घरधुरीले ग्यासको प्रयोग गर्ने गरेका छन् । पछिल्लो समय सहरी क्षेत्रमा मात्र नभएर गाउँ गाउँमा समेत ग्यासको प्रयोग बढ्दै गएको छ ।

हाल बजारमा प्रतिसिलिन्डर ग्यासको मूल्य एक हजार ९१० रुपैयाँ रहेको छ । निजी उद्योगी व्यवसायीले भारतका विभिन्न रिफाइनरीबाट ग्यास आयात गर्दै आएका छन् । छिमेकी मुलुक भारतका विभिन्न रिफाइनरी केन्द्रबाट खाना पकाउने ग्यास आयात हुने गर्छ । मुलुकमा विभिन्न ५५ वटा ग्यास उद्योगले आयात गरी बजारमा वितरण गर्ने गरेका छन् ।