काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य उच्च दरमा घटाएपछि काठमाडौं उपत्यकालगायत अधिकांश स्थानका पेट्रोल पम्प बन्द गरिएको छ।
आयल निगमले बुधबार बिहानबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २०, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ तथा एलपिजी ग्यासमा एक सय रुपैयाँले मूल्य घटाएको हो।
आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएसँगै आज बिहानदेखि ललितपुरका एकान्तकुना, सानेपा, काठमाडौंको बाफल तथा भक्तपुरका लोकन्थली, गठ्ठाघर र कौशलटारलगायतका पेट्रोल पम्प बन्द देखिएका छन्।
निजी पेट्रोल पम्प बन्द भए पनि साझा, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सञ्चालित पम्प भने सञ्चालनमा छन् । बढी मूल्यमा किनेर सस्तोमा बेच्नु परेपछि पेट्रोल पम्प सञ्चालकहरूले पम्प बन्द गरेका हुन् । केही पेट्रोल पम्प खुले पनि पेट्रोल भर्नेको लामो लाइन लागेको छ।
विगतमा सातामै दुई दिन इन्धनको मूल्य बढ्दा पेट्रोल पम्प खुल्ला हुने गर्थे । तर यसपटक मूल्य बढ्ने थाहा पाएलगत्तै मंगलबार साँझदेखि नै पेट्रोल पम्प खुलेका थिएनन् ।
आयल निगमले व्यापारीहरूले मिलेमतोमा बजारमा इन्धनको अभाव सिर्जना गरेको जनाएको छ । निगमले बजार अनुगमनका लागि टोलीसमेत खटाएको छ । बन्द भएका पेट्रोल पम्पको सूची राखेर आगामी दिनमा पेट्रोल, डिजेल र मट्टीतेल वितरणमा रोकसमेत लगाउने तयारी भएको स्रोतले बतायो ।






