काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको कार्यकारी निर्देशक नियुक्त गरेको मुख्यसचिव गोविन्दबहादुर कार्कीले जानकारी दिए ।
साह आयल निगमको पूर्वनिमित्त कार्यकारी निर्देशक हुन् । उनी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आह्वान गरेको खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्तिका लागि उत्कृष्ट तीनमा परेका थिए ।
साहसँगै प्युठानका कौशल केसी र सप्तरीका सञ्जीवकुमार देव प्रतिस्पर्धामा थिए । अनुभव र योग्यताका आधारमा साहलाई मन्त्रिपरिषद्ले नियुक्त गरेको हो ।
साहको काँधमा सरकारको योजनाअनुसार ९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थको भण्डारण गृह निर्माण गर्नुपर्ने प्रमुख चुनौती छ । साह निगममा लेखा अधिकृतबाट प्रवेश गरेका थिए । रिक्त पदपूर्तिका लागि असार २ मा दरखास्त आह्वान गरिएको थियो।




