काठमाडौं । धेरै समयपछि प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका महामन्त्री एव सांसद विश्वप्रकाश शर्मा सुनिएका छन् । सभामुखले शर्मालाई ३८ मिनेटको समय दिएका थिए । आफूले पाएको समयभित्र शर्माले सरकारदेखि विपक्षीसम्म सबैको आलोचना गरे ।

प्रधानमन्त्री केपी ओलीको कार्यशैली, सरकारमा रहेका आफ्नै दलका मन्त्रीदेखि रास्वपा र पार्टी सभापति रवि लामिछानेका क्रियाकलपाबारे उछितो काढे । सुरुमा भिजिट भिसासम्बन्धी विषयमा बोलेका शर्माले रास्वपालाई तीन ‘अ’ त्याग्न सुझाव पनि दिए ।

ADVERTISEMENT

‘रास्वपाको मित्रहरुलाई नम्रतापूर्वक मेरो सुझाव छ नयाँ नयाँ दल छ। अनुभवले खारिन बाँकी छ,’ शर्माले भने, ‘त्यसैले तीनवटा ‘अ’बाट मुक्त हुनुहोस्।’ ती तीन ‘अ’ को व्याख्या गर्दै उनले भने, ‘अतार्किक अडानबाट, आवेगबाट र अराजक शैलीबाट।’

ADVERTISEMENT

शर्माले विषयवस्तुलाई आवेगमा हेर्न नहुने बताए। भिजिट भिसा प्रकरणलाई लिएर संसद् बहिष्कार गरिरहेको रास्वपालाई विषयवस्तुलाई आवेगमा नहेर्न सुझाव दिँदै शर्माले संयम हुन आग्रह गरे।

भिजिट भिसामा सबैभन्दा बढी मानिस रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री रहेकै बेलामा गएको उल्लेख गर्दै शर्माले तथ्यांक हेर्न आग्रहसमेत गरे। भिजिट भिसालाई मानव तस्करीसँग जोडेर रास्वपाले संसद् बहिष्कार गरिरहेको उल्लेख गर्दै उनले भने, ‘के रास्वपाका साथीहरू रविजीकै पालामा सबैभन्दा बढी मानव तस्करी भयो भन्ने निष्कर्षमा पुग्नुभएको हो ?’

ADVERTISEMENT

शर्माले थप विवरण प्रस्तुत गरे, ‘रविजी गृहमन्त्री रहेको सुरुवाती १५० दिनमा १ लाख १६ हजार २०५ जना भिजिट भिसामा गएका रहेछन्। १५० ले भाग गर्दैगर्दा ७५४.७ जना चाहिँ यो अवधिमा चाहिँ भिजिट भिसामा बाहिर गएका रहेछन्। भर्खरै संसद् बहिष्कार गरेर बाहिर जानुभएका साथीहरू मोटरमा सुन्दै हुनुहुन्छ या घरमा पुगेर सुन्दै हुनुहुन्छ, सरकारी रेकर्डहरू पल्टाएर हेर्नुहोला, गुगलमा सर्च गरेर हेर्नुहोला वा च्याटजीपीटीलाई नै सोध्दा पनि हुन्छ। तर, भिजिट भिसामा सबैभन्दा बढी मानिस त तपाईंको सभापति गृहमन्त्री भएको बेला गएका रहेछन्। यतिकै आधारमा भन्दै गर्दा रविजीकै पालामा सबैभन्दा बढी भिजिट भिसामा मानिसहरू गए भन्दै गर्दा के तपाईंहरूको यो निष्कर्ष हो कि रविजीकै पालामा सबैभन्दा बढी मातव तस्करी सबैभन्दा बढी भयो ?’

शर्माले स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कृषिमन्त्री रामनाथ अधिकारी, गृहमन्त्री रमेश लेखक, पर्यटनमन्त्री बद्री पाण्डे, परराष्ट्रमन्त्री आरजु देउवाको कार्यशैलीप्रति पनि प्रश्न गरे ।