काठमाडौँ । पछिल्लो समय विद्युतीय सवारी (इभी) प्रति व्यवसायी र यात्रुको आकर्षण बढ्दो छ ।

पेट्रोल भन्दा सस्तो हुने भएकाले पनि विद्युुतीय सवारीको आकर्षण बढ्दै गएको हो । सरकारले सार्वजनिक विद्युतीय सवारीलाई प्रोत्साहनको नीति लिएपछि विद्युतीय सवारी आयात ह्वात्तै बढेको देखिएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१÷८२ को मा एक वर्षमा ३१ अर्ब ७६ करोड रुपैयाँ बराबरको १३ हजार ५७८ विद्युतीय सवारी आयात भएका छन् । २०८०÷८१ मा २२ अर्ब रुपैयाको ११ हजार ७०१ वटा आयात भएका थिए । विद्युतीय सवारीसाधन आयातमा निरन्तर वृद्धि भइरहनुले पनि आकर्षण बढेको देखिन्छ ।

विभागका अनुसार  २०८१÷८२ को तथ्याङ्क अनुसार एक वर्षमा नौ अर्ब ४८ करोड रुपैया भन्दा बढी मूल्यका यात्रुवाहक विद्युतीय सवारी आयात भएको छ । तीन हजार १३२ वटा सार्वजनिक विद्युतीय बस, मिनीबस र माइक्रोबस आयात गर्दा करिब दुई अर्ब १० करोड रुपैया राजस्व सङ्कलन भएको देखिन्छ ।

आयात भएका तीन हजार १३२ सार्वजनिक विद्युतीय सवारी चीनबाट ल्याइएको छ । ५० किलोवाटसम्मका चार हजार ७३२ विद्युतीय सवारी र ५१ देखि १०० किलोवाट क्षमताका सात हजार ४३१ सवारी आयात भएको छ ।

आव २०८१÷८२ मा चीनबाहेक भारतबाट तीन हजार २४६ विद्युतीय सवारी आयात गरिएको छ । त्यस्तै मलेसियाबाट ५०, जर्मनीबाट ४५, संयुक्त राज्य अमेरिकाबाट ११, दक्षिण कोरियाबाट छ र इन्डोनेसियाबाट चार वटा विद्युतीय सवारी आयात भएको तथ्याङ्क छ ।

पछिल्लो समयमा बजारमा विद्युतीय कार, भ्यान, स्कुटरको प्रयोग धेरै हुने गरेको छ । पेट्रोल, डिजल सवारी साधनको तुलनामा विद्युतीय सवारी साधनको मर्मत खर्च एकदमै कम हुनुका साथै टायर, ब्याट्री, सर्भिसिङ र सरसफाइ खर्च मात्रै लाग्ने भएकाले विद्युतीय सवारी साधनको ‘मेन्टेनेन्स खर्च’ अन्य सवारी साधनको तुलनामा कम लाग्ने गरेको व्यवसायी बताउँछन् । यातायात विज्ञ आशिष गजुरेलले पेट्रोल भन्दा सस्तो पर्ने भएकाले पनि विद्युतीय सवारीको प्रयोग बढ्दै गएको बताउँछन ।

विद्युतीय सवारी साधनले पेट्रोल, डिजेल सवारी साधनले जस्तो वातावरण र मानव स्वास्थ्यलाई असर पु¥याउने कार्बोनमोनोक्साइड ग्यास पनि उत्सर्जन नगर्ने हुनाले विद्युतीय सवारी साधन वातावरणमैत्री रहेको छ ।

पेट्रोल, डिजेल सवारी साधनको तुलनामा विद्युतीय सवारी साधनको सञ्चालन खर्च तीन गुणा कम हुने गरेको व्यवसायीको भनाइ छ । तर पर्याप्त चार्जिङ स्टेसन नहुँदा यसको प्रयोगमा चुनौती देखिएको छ ।