काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको निर्देशनपछि भन्सार विभागअन्तर्गतका २७२ कर्मचारीको सरुवा रद्द भएको छ। सरुवा पारदर्शी र न्यायोचित नभएको भन्दै उजुरी परेपछि विभागले यसअघि गरेको सरुवा निर्णय फिर्ता लिएको हो।

भन्सार विभागले गत कात्तिक २० गते ६९ जना अधिकृत र २०३ जना नायबसुब्बालाई विभागअन्तर्गतका विभिन्न कार्यालयमा सरुवा गरेको थियो।

ADVERTISEMENT

तर, सरुवा प्रक्रियामा पारदर्शिता नअपनाइएको भन्दै गुनासो र उजुरी प्राप्त भएपछि अर्थमन्त्री वाग्लेले सोमबार उक्त निर्णय तत्काल रद्द गर्न मन्त्रालय र विभागका नेतृत्वलाई निर्देशन दिएका थिए।

ADVERTISEMENT

‘सरुवा पारदर्शी र न्यायोचित नभएको भन्ने गम्भीर सूचना र उजुरी प्राप्त भएका कारण तत्काल उक्त सरुवा निर्णय रद्द गर्नू,’ अर्थमन्त्री वाग्लेले निर्देशन दिँदै भनेका थिए, ‘पारदर्शी र प्रविधिमैत्री प्रणाली विकास गरेर नयाँ विधिबाट सरुवा गर्नू।’

अर्थमन्त्रीको निर्देशनपछि सोमबार नै निमित्त अर्थसचिव डा. सुमन दाहालले सरुवा निर्णय रद्द गर्न भन्सार विभागलाई लिखित पत्राचार गरेका थिए। त्यसपछि विभागले कात्तिक २० गतेको सरुवा निर्णय रद्द गरेको हो।

मन्त्रालयको निर्देशनअनुसार अब प्रविधिमैत्री प्रणाली विकास गरी निश्चित मापदण्डका आधारमा कर्मचारीको नयाँ सरुवा गरिनेछ। यसले सरुवा प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउने मन्त्रालयको अपेक्षा छ।

यसैबीच, सरुवा प्रक्रिया अपारदर्शी भएको विषयमा छानबिन गर्न पनि अर्थमन्त्री वाग्लेले मन्त्रालयका उच्च अधिकारीहरूलाई निर्देशन दिएका छन्। मन्त्रालयले यससम्बन्धी आन्तरिक छानबिनसमेत सुरु गरेको छ।