काठमाडौंं । नेपालको वैदेशिक व्यापार १ सय ६३ भन्दा धेरै देशसँग हुने गरेको भन्सार विभागको तथ्यांक छ । सबैभन्दा धेरै कारोबार भने भारत र चीनसँग छ ।
गत आव भारतबाट नेपालले १० खर्ब ७१ अर्ब १९ करोडको वस्तु आयात गरेको छ । नेपालबाट भारतमा भने २ खर्ब २४ अर्ब ६८ करोडको वस्तु निर्यात भएको छ । भारतसँग ८ खर्ब ४६ अर्बको व्यापार घाटा छ ।
चीनबाट नेपालमा ३ खर्ब ४१ अर्ब बराबरको वस्तु आयात भएको छ । नेपालबाट २ अर्ब ६३ करोडको वस्तु चीन निर्यात भएको छ । तेस्रो व्यापारिक साझेदार अर्जेन्टिना देखिएको छ । त्यहाँबाट नेपालमा ९९ अर्ब ३० करोडको वस्तु आयात भएको छ । निर्यात भने ३३ लाख ५५ हजारको मात्र भएको छ ।
चौथो स्थानमा अमेरिका छ । त्यहाँबाट २५ अर्ब ९६ करोडको वस्तु आयात भएको छ । नेपालबाट अमेरिकामा भने १८ अर्ब ३२ करोडको वस्तु निर्यात भएको छ । तुलनात्मक रूपमा अमेरिकामा कम व्यापार घाटा देखिन्छ ।
पाँचौ स्थानमा युनाइटेड अरब इमिरेट्स ९यूएई० बाट नेपालमा २५ अर्ब ३३ करोडको वस्तु आयात हुँदा नेपालबाट ३ अर्ब १ करोडको सामान निर्यात भएको छ । छैटौं स्थानमा युक्रेन छ । त्यहाँबाट २४ अर्ब ९१ करोडको वस्तु आयात भएको छ । निर्यात भने ६७ लाखको मात्र देखिन्छ ।
विभागका अनुसार गत आर्थिक वर्ष २०८१÷८२ मा वैदेशिक व्यापार २० खर्ब ८१ अर्ब १५ करोड पुगेको छ । आव २०७८÷७९ मा वैदेशिक व्यापारको आकार २१ खर्ब २० अर्ब ४७ करोड रुपैयाँ पुगेको थियो । यस वर्ष निर्यातमा नयाँ कीर्तिमान बनेको छ । २ खर्बको पुरानो रेकर्ड तोडेको निर्यात व्यापार यस वर्ष २ खर्ब ७७ अर्बमा उक्लिएको छ ।







