काठमाडौँ । सुनको मूल्य फेरि बढेर तोलामा दुई लाख रुपियाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला एक लाख ९५ हजार पाँच सय रुपियाँमा कारोबार भएको
सुनको मूल्य बुधबार दुई हजार एक सय रुपियाँले बढेर एक लाख ९७ हजार छ सय रुपियाँमा कारोबार भएको छ । यस्तै मङ्गलबार तोलामा दुई हजार ३३० रुपियाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार २० रुपियाँले बढेर दुई हजार ३५० रुपियाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । बुधबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुनको मूल्य तीन हजार चार सय अमेरिकी डलर पुगेको छ । यसअघि मूल्य घटेर प्रतिऔँस तीन हजार दुई सय डलरसम्म झरेको थियो ।
यसअघि प्रतितोला एक लाख ९७ हजार नौ सय रुपियाँ पुगेको सुनको मूल्य घटेर एक लाख ८८ हजार रुपियाँमा झरेको थियो । बिचमा केही समय स्थिर रहेको सुनको मूल्य पछिल्लो एक सातादेखि पुनः बढ्न थालेको हो ।
पछिल्लो एक सातामा सुनको मूल्य तोलामा पाँच हजार तीन सय रुपियाँले बढेको छ । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले अन्तर्राष्ट्रिय बजार अस्थिर हुँदा मूल्य बढ्दै गएको जानकारी दिनुभयो ।
विभिन्न देशमा भएका युद्ध, नीतिगत प्रभावले गर्दा सुनको मूल्य बढ्न थालेको उहाँले जानकारी दिनुभयो । मूल्य बढ्दै गएको र सुनमा लगाएको दुई प्रतिशत विलासिता करका कारणले गर्दा पनि बजारमा सुनको काराबोर न्यून भएको उहाँको भनाइ छ ।






