पर्सा । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर रु एक खर्ब ७४ अर्ब नौ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टीतेल आयात भएको हो ।

समग्रमा गत आवको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा पाँचथरिका पेट्रोलियम पदार्थ आयात भने एक अर्ब ६ करोडले घटेको छ । सो अवधिमा मूल्यका आधारमा पेट्रोलियम पदार्थको आयात घटे पनि सोबाट प्राप्त हुने राजस्व भने ११ दशमलव ६६ प्रतिशत अर्थात् सात अर्ब ६४ करोडले बढेको छ ।

ADVERTISEMENT

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार कार्यालयले चालु आवको ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट भएको छ । चालु आवको ११ महिनामा पाँचथरिका पेट्रोलियम पदार्थको आयातबाट कार्यालयले ७३ अर्ब १८ करोड संकलन गरेको छ । जबकि गत आवको सोही अवधिमा पाँचैथरिका पेट्रोलियम पदार्थको आयातबाट ६५ अर्ब ५४ करोड संकलन भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको जेठ मसान्तसम्म ८९ अर्ब ७६ करोड मूल्य पर्ने १० लाख ३० हजार २५३ किलोलिटर डिजेल आयात भएको छ । गत आवको सोही अवधिमा भने ९३ अर्ब ६३ करोड मूल्य पर्ने नौ लाख २१ हजार २७५ किलोलिटर डिजेलको आयात भएको छ । डिजेल आयातबापत कार्यालयले ४१ अर्ब तीन करोड राजस्व सङ्कलन गरेको छ भने गत आवको सोही अवधिमा भने ३६ अर्ब चार करोड सङ्कलन गरेको थियो ।

ADVERTISEMENT

चालु आवको ११ महिनामा रु ३५ अर्ब ३४ करोडको चार लाख १३ हजार ५०४ किलोलिटर पेट्रोल आयात भएको छ । जबकि गत आवको ११ महिनामा ३६ अर्ब चार करोडको तीन लाख ६१ हजार ७२७ किलोलिटर पेट्रोलको आयात भएको छ । पेट्रोल आयातबाट कार्यालयले २३ अर्ब ३८ करोड राजस्व सङ्कलन गर्यो भने गत आवको सोही अवधिमा रु २० अर्ब ७३ करोड संकलन गरेको छ ।