काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायात तथा मालवाहक सवारीसाधनको भाडा दुई प्रतिशतले घटाइएको छ। यातायात व्यवस्था विभागले बिहीबारदेखि लागू हुने गरी नयाँ भाडादर सार्वजनिक गरेको हो।
विभागका अनुसार डिजेलको मूल्यमा आएको गिरावटका आधारमा स्वचालित भाडा समायोजन प्रणालीअनुसार भाडा घटाइएको हो। यसअघि भाडादर समायोजन गर्दा डिजेलको औसत मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसा रहेकामा असार १७ गतेदेखि घटेर १९३ रुपैयाँ ८३ पैसा कायम भएपछि भाडा पुनः समायोजन गरिएको विभागले जनाएको छ।
यसअघि गत वैशाख १२ गते मन्त्रिस्तरीय निर्णयअनुसार सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडा पाँच प्रतिशतले बढाइएको थियो। इन्धनको मूल्य घटेपछि पुनः भाडा समायोजन गरिएको विभागको भनाइ छ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)ले विभागले निर्धारण गरेको नयाँ भाडादर बिहीबारदेखि नै लागू हुने जानकारी दिएका छन्। यात्रुले अब अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा अघिल्लोभन्दा दुई प्रतिशत कम भाडा तिर्नुपर्नेछ।








