ललितपुर – जारी आन्दोलनका क्रममा ‘जेन जी’ प्रदर्शनकारीहरूले नख्खु जेलमा आक्रमण गरी सांसद तथा रास्वपा सभापति रवि लामिछानेलाई बाहिर निकालेका छन्।
नख्खु जेलका प्रमुख सत्यराज जोशीका अनुसार प्रदर्शनकारीहरूले ढुंगा–मुढा गरेका थिए। परिस्थितिको तनाव चर्किँदै गएपछि अन्य कैदीहरूको सुरक्षालाई ध्यानमा राख्दै लामिछानेलाई छाड्न बाध्य भएको उनले बताएका छन्।
“कारागारमा रहेका अरू कैदीहरूको सुरक्षाका लागि उहाँलाई छाडिदिएका छौं,” प्रमुख जोशीले भने।
जेल बाहिर ठूलो संख्यामा प्रदर्शनकारीहरूको भिड रहेको थियो। लामिछानेलाई बाहिर निकालेपछि स्थिति केही समय नियन्त्रण बाहिर पुगेको सुरक्षा स्रोतले जनाएको छ।
यस घटनापछि सुरक्षाकर्मीहरूको ठूलो फौज परिचालन गरिएको छ र राजधानीमा थप अशान्ति फैलिने आशंका बढेको छ।