काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको ‘इपिसेन्टर’ बनेको झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बालेन्द्र शाह (बालेन) फराकिलो मतान्तरसहित विजयी भएका छन्।
काठमाडौं महानगरपालिकाका पूर्व–नगरप्रमुख समेत रहेका शाहले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै प्रतिनिधिसभामा प्रवेश गरेका हुन्। यस क्षेत्रलाई निकै चासोका साथ हेरिएको थियो, किनभने रास्वपाले शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा घोषणा गरिसकेको छ।
निर्वाचन आयोगका अनुसार शाहले ६८ हजार ३४८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी ओली १८ हजार ७३४ मतमा सीमित भएका छन्। यसरी शाहले ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गरेका हुन्।
रास्वपाका वरिष्ठ नेता समेत रहेका शाहको उम्मेदवारीले झापा–५ लाई राष्ट्रिय राजनीतिमा विशेष महत्वको क्षेत्र बनाएको थियो। चुनावी प्रतिस्पर्धामा देशका दुई प्रमुख राजनीतिक धारबीचको प्रतिस्पर्धा भएकाले यहाँको मत परिणामलाई विशेष रूपमा चासोका साथ हेरिएको थियो।
फराकिलो मतान्तरसहितको जितपछि शाहले अब संघीय संसद्मा रास्वपाको नेतृत्व गर्दै सरकार गठनको सम्भावनालाई थप बलियो बनाएका छन्।