काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन्। मंगलबार साँझ ६ बजे बस्नेगरी सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओलीले संवादको माध्यमबाट समाधान खोज्न अपिल गरेका छन्। उत्पन्न परिस्थितिको मूल्यांकन गर्न र सार्थिक निष्कर्षको लागि संवद्ध पक्षसँग संवादमा भइरहेको उनले बताएका छन्। उनले कुनै पनि रुपको हिंसा राष्ट्रको हितमा नहुने भन्दै संयमित हुन आग्रह गरेका छन् ।
जेनजी पुस्ताले सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सोमबारदेखि आन्दोलन सुरू गरेको छ। आन्दोलनका क्रममा सोमबार १९ जनाको मृत्यु र सयौं घाइते भएपछि मंगलबार बिहानैदेखि आन्दोलनको डढेंलो फैलिएको हो ।
अहिलेसम्म कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापालगायतका निजी निवास र कांग्रेस तथा एमालेको पार्टी कार्यालयमा आगजनी भइसकेको छ । तर प्रधानमन्त्रीले राजीनामा दिनुको सट्टा बेलुका बैठक बोलाएका छन् ।










