काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले फेरि सत्याग्रह सुरु गरेका छन् । निजी मेडिकल कलेजको सिट वृद्धि गर्ने सरकारको निर्णयविरुद्ध केसीले आइतबारदेखि सत्याग्रह थालेका हुन् ।
केसीले कैलालीको गेटा मेडिकल कलेजमा सत्याग्रह सुरु गरेका छन्। सत्याग्रह थाल्नुअघि केसीले धनगढीस्थित गेटा मेडिकल कलेज परिसरमा पत्रकार सम्मेलन गरेका थिए ।
शिक्षा स्वास्थ्य जस्तो सेवामूलक क्षेत्रको गुणस्तर समतामूलक पहुँचको अभिवृद्धिको सुनिश्चितलगायत युद्धग्रस्त मुलुक युक्रेन र गाजामा शान्ति स्थापनाको माग गर्दै केसीले सत्याग्रह थालेका हुन् ।
एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसम्बन्धि र विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्डसम्बन्धि ऐन पारित गर्न, ऐनअनुरुप मेडिकल शिक्षालाई गैरनाफामूलक बनाउने र सरकारी अस्पताललगायत सबै स्वास्थ्य संस्थामा दरबन्दी वृद्धि गर्नलगायतका सबै सम्झौता र मागहरु कार्यान्वयन तथा पूरा गर्न, लिपुलेकमा अतिक्रमण बन्द गरी नेपालको अतिक्रमित भूमि फिर्ता गर्न भारत सरकारसँग र सो कार्यको सुनिश्चितता गर्न सरकारसँग माग गरिएको छ ।
यसअघि नै केसीले सत्याग्रह थाल्ने सरकारलाई चेतावनी दिएका थिए । तर दुर्घटनामा परेर खुट्टामा प्लास्टर गर्नुपरेकाले उनको सत्याग्रह पछि सरेको हो ।
चिकित्सा शिक्षा आयोगले हालै एमबिबिएस, बिडिएसलगायत चिकित्सा शिक्षा अध्ययनका लागि निजी मेडिकल कलेजलाई १३ सयभन्दा बढी सिट प्रदान गरेको थियो । तर एउटा सिट पनि सरकारी मेडिकल कलेजलाई छुट्याइएको थिएन । सरकारको यो निर्णयको केसीले सुरुदेखि नै विरोध गर्दै आएका छन् ।







