काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई ८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंकको आज बसेको सञ्चालक समिति बैठकले ४ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन्।
सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद गरि कुल ८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।
तस्बिर:संचालक समिति, माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले केही दिन अघि प्रकाशित गरेको चौथो त्रैमासिक अन्तरिम वित्तीय प्रतिवेदनअनुसार बैंकको नाफामा उल्लेखनीय वृद्धि भएको छ। गत आर्थिक वर्षको तुलनामा यस वर्ष बैंकको खुद नाफा ९२.४४ प्रतिशतले बढेको छ। सोही नाफा वृद्धिले गर्दा बैंकलाई यसपालि लाभांश वितरण गर्ने आधार तयार भएको हो।
गत वर्ष बैंकले सेयरधनीलाई कुनै पनि लाभांश वितरण गरेको थिएन। त्यसैले यसपटक बोनस र नगद सेयर दुबै दिने निर्णयले लगानीकर्तामा नयाँ ऊर्जा र विश्वास जगाउने अपेक्षा गरिएको छ।
नेपाल राष्ट्र बैंकले केहि दिन अघिमात्र लाभांश वितरणसम्बन्धी निर्देशन जारी गरेको थियो। तत्पश्चात थोरै समयका बीच पनि लाभांश घोषणा गर्ने पहिलो बैंक माछापुच्छ्रे बनेको छ।








