काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कल्याण विक्रम पाँडेलाई नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) पदमा नियुक्त गरेको छ। पाँडेले साउन २९ गतेदेखि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा जिम्मेवारी सम्हालेका हुन्।
बैंकिङ क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव भएका पाँडेले यसअघि ग्लोबल आइएमई बैंक, साविक जनता बैंक, लक्ष्मी बैंक र कुमारी बैंकलगायतका वित्तीय संस्थामा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्।
शैक्षिक रूपमा पाँडेले बंगलोर विश्वविद्यालयबाट वित्त विषयमा प्रथम श्रेणीमा एमबीए गरेका छन्। उनले अलिगढ मुस्लिम विश्वविद्यालयबाट विद्युत् इन्जिनियरिङमा सम्मानसहित बीटेक उपाधि हासिल गरेका छन्।
पाँडेसँग बैंकिङ क्षेत्रको योजना निर्माण तथा कार्यान्वयन, कर्पोरेट र पूर्वाधार बैंकिङ, एसएमई तथा खुद्रा बैंकिङमा काम गरेको अनुभव रहेको बैंकले जनाएको छ। त्यस्तै, व्यवसाय रूपान्तरण, डिजिटलाइजेसन, जोखिम व्यवस्थापन, अनुपालन, व्यापार वित्त तथा कारोबार बैंकिङमा समेत उनको अनुभव रहेको छ।
उनले मर्जर तथा एक्विजिसन, बैंक तथा वित्तीय संस्थाको एकीकरण, वित्तीय विश्लेषण, उत्पादन विकास र दिगो तथा हरित बैंकिङका क्षेत्रमा समेत काम गरिसकेका छन्।
नेतृत्व क्षमता र परिणाममुखी कार्यशैलीका लागि परिचित पाँडेको नियुक्तिले बैंकको व्यवसाय विस्तार, ग्राहक सेवामा सुधार तथा रणनीतिक लक्ष्य कार्यान्वयनमा थप योगदान पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।







