काठमाडौं । माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब ११ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको १ अर्ब ८८ करोड ३६ लाख रुपैयाँको तुलनामा १२.२४ प्रतिशतले बढी हो।
नाफा बढे पनि बैंकको वितरणयोग्य नाफा र लाभांश क्षमता भने अपेक्षाकृत कमजोर देखिएको छ। नियामकीय जगेडा कोषमा छुट्याउनुअघिको नाफा १ अर्ब ४ करोड १६ लाख रुपैयाँबाट बढेर १ अर्ब १९ करोड ८३ लाख रुपैयाँ पुगेको छ।
बैंकले बक्यौता ब्याजबापत नियामकीय जगेडा कोषमा ११ करोड १२ लाख रुपैयाँ छुट्याएको छ। त्यसपछि पनि वितरणयोग्य नाफा अघिल्लो वर्षको ९३ करोड ६४ लाख रुपैयाँबाट बढेर ९८ करोड २० लाख रुपैयाँ पुगेको छ।
तर, बैंकले गत आर्थिक वर्षमा ३ अर्ब रुपैयाँको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गरेको छ। उक्त सेयरको लाभांशका लागि ७ करोड ५५ लाख रुपैयाँ छुट्याएपछि बैंकको लाभांश क्षमता ७.५१ प्रतिशतमा सीमित भएको छ।
बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ७५ करोड ६७ लाख रुपैयाँबाट बढेर ६ अर्ब ७ करोड ४९ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब २८ करोड ५२ लाख रुपैयाँबाट बढेर १ अर्ब ५८ करोड ५७ लाख रुपैयाँ पुगेको छ।
नेट ट्रेडिङ आम्दानी पनि ३३ करोड २२ लाख रुपैयाँबाट बढेर ४८ करोड ११ लाख रुपैयाँ पुगेको छ। यससँगै बैंकको कुल सञ्चालन आम्दानी ७ अर्ब ४४ करोड ७ लाख रुपैयाँबाट बढेर ८ अर्ब ३१ करोड ४४ लाख रुपैयाँ पुगेको छ।
आम्दानी बढे पनि कर्जा नोक्सानी व्यवस्थामा भने उल्लेख्य वृद्धि भएको छ। यस्तो व्यवस्था ५५ करोड ६७ लाख रुपैयाँबाट बढेर १ अर्ब ८ करोड १९ लाख रुपैयाँ पुगेको छ। बैंकले अघिल्लो आर्थिक वर्षमा ४७ करोड ८३ लाख रुपैयाँ कर्जा अपलेखन गरेकोमा गत आवमा थप ११ करोड ५८ लाख रुपैयाँ कर्जा अपलेखन गरेको छ।
बैंकको निष्क्रिय कर्जा अनुपात सामान्य बढेर ३.९६ प्रतिशतबाट ३.९८ प्रतिशत पुगेको छ। नाफा वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि १५ रुपैयाँ ८९ पैसाबाट बढेर १७ रुपैयाँ ८९ पैसा पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ९० पैसा रहेको छ भने जगेडा कोषमा ७ अर्ब ४३ करोड ६८ लाख रुपैयाँ रहेको छ।
बैंकको पूँजीकोष अनुपात १३.२१ प्रतिशत र प्राथमिक पूँजीकोष अनुपात १०.०४ प्रतिशत रहेको छ। आधार दर ५.०४ प्रतिशतमा झरेको छ भने स्प्रेड दर ३.७९ प्रतिशतबाट घटेर ३.४८ प्रतिशतमा आएको छ।
यस अवधिमा बैंकको निक्षेप १ खर्ब ८४ अर्ब १७ करोड ६० लाख रुपैयाँबाट बढेर २ खर्ब २० अर्ब ४९ करोड ८५ लाख रुपैयाँ पुगेको छ। कर्जा लगानी पनि १ खर्ब ४१ अर्ब ४३ करोड ६० लाख रुपैयाँबाट बढेर १ खर्ब ६३ अर्ब ९९ करोड १२ लाख रुपैयाँ पुगेको छ।





