सुर्खेत । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू नै अहिले पार्टीको सभापति रहेको दाबी गरेका छन्। पार्टीको आधिकारिकतासम्बन्धी विवाद अदालतमा विचाराधीन रहे पनि संविधान र पार्टी विधानअनुसार आधिकारिकता आफूहरूले नै पाउने उनको विश्वास छ।
आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित देउवा पक्षको कर्णाली प्रदेशस्तरीय अधिवेशनलाई सम्बोधन गर्दै उनले अदालतले आफूहरूलाई न्याय दिने बताए।
‘अहिले कांग्रेसको आधिकारिक विवाद कायमै छ। अदालतमा विचाराधीन मुद्दामा धेरै बहस नगरौँ, तर अदालतले हामीलाई न्याय दिन्छ भन्नेमा विश्वस्त छु। अहिले कांग्रेसको सभापति मै हुँ, महाधिवेशनपछि अर्को साथी सभापतिको रूपमा आउनुहुन्छ,’ देउवाले भने।
उनले नेपालको संविधान र नेपाली कांग्रेसको विधानअनुसार पार्टीको आधिकारिकता आफूहरूले नै प्राप्त गर्ने दाबी गरे। न्यायालयप्रति विश्वास रहेको उल्लेख गर्दै उनले विवादको निरुपण अदालतबाट हुने बताए।
देउवाले आफूलाई पार्टी र देशका जनताले धेरै अवसर दिएको भन्दै अब फेरि पार्टी सभापति वा प्रधानमन्त्री नबन्ने घोषणा पनि गरे।
‘यो पार्टी र देशका जनताले मलाई धेरै दिइसक्यो, अब मैले देश र जनतालाई दिन बाँकी छ। अब म फेरि न त पार्टी सभापति हुन्छु, न त प्रधानमन्त्री,’ उनले भने।
आफू पाँचपटक प्रधानमन्त्री बनेको स्मरण गर्दै उनले अब देश र जनताका लागि योगदान गर्ने बताए।
कार्यक्रममा नेता डा. शशांक कोइरालालगायतले पनि सम्बोधन गरेका थिए। यसअघि देउवा पक्षले सुर्खेत जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ। उक्त अधिवेशनबाट ललित भट्टराई सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। देउवा पक्षले कर्णाली प्रदेशको सभापति पनि निर्विरोध चयन गर्ने बताएको छ।












