कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले महाधिवेशनको प्रक्रिया तत्काल नरोके पार्टी विभाजन हुनबाट कसैले रोक्न नसक्ने चेतावनी दिएका छन्।

कञ्चनपुरको दोधारा–चाँदनीमा कार्यकर्तासँगको भेटघाटमा लेखकले पार्टी एकता जोगाउन आफूहरू अझै अधिकतम लचकताका साथ अघि बढिरहेको बताए। उनका अनुसार विशेष महाधिवेशनमार्फत १४औँ महाधिवेशनबाट बनेको कार्यसमिति हटाइएपछि अहिलेको विवाद उत्पन्न भएको हो।

ADVERTISEMENT

विशेष महाधिवेशन र १४औँ महाधिवेशनबाट बनेका कार्यसमितिलाई समेटेर विवाद समाधान गर्नुपर्ने लेखकको प्रस्ताव छ। उनले सभापति गगन थापालाई हटाउने आफूहरूको माग नरहेको स्पष्ट पार्दै १४औँ महाधिवेशनमा रहेका तर विशेष महाधिवेशनमा नसमेटिएका नेताहरूलाई केन्द्रीय कार्यसमितिमा समेट्नुपर्ने बताए।

ADVERTISEMENT

सदस्य थप्दा सभापति थापा अल्पमतमा पर्ने चिन्ता भए आफ्नो पक्षबाट पनि आवश्यक सदस्य थपेर बहुमत कायम गर्न सक्ने विकल्प आफूहरूले दिएको लेखकले बताए।

निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति र अनुशासन समितिमा सभापतिले संयोजक तोक्न तथा बहुमत कायम गर्न सक्ने भए पनि अन्य समूहबाट एक–एक जना प्रतिनिधि राख्नुपर्ने प्रस्ताव आफूहरूको रहेको उनले बताए।

ADVERTISEMENT

लेखकले पार्टी एकताका लागि आफूहरूले करिब ११ महिनादेखि प्रयास गरिरहेको दाबी गर्दै अझै समाधानको सम्भावना रहेको बताए। उनले भने, “आफ्नो–आफ्नो ठाउँबाट महाधिवेशन रोकौँ। यदि महाधिवेशन रोकिएन भने पार्टी विभाजन हुन्छ।”

विवादको मुख्य मुद्दा अझै अदालतमा विचाराधीन रहेकाले अदालतको फैसला कुर्नुपर्ने लेखकको भनाइ छ। एउटा फैसला आफ्नो पक्षमा आएको भन्दै त्यसलाई सम्पूर्ण विवादको समाधानका रूपमा लिन नहुने उनले बताए।

महाधिवेशनको प्रक्रिया अघि बढाएर पार्टी विभाजन भए त्यसको जिम्मेवारी प्रक्रिया सुरु गर्ने पक्षले लिनुपर्ने चेतावनीसमेत लेखकले दिएका छन्।