सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले आयोजक कर्णाली प्रदेशलाई ६५ रनले पराजित गरेको छ ।
आइतबार कालुङ्चोक मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६१ रन बनाएको थियो ।
लुम्बिनीका लागि निर्मल गुरुङले सर्वाधिक ३३ रन बनाए । उनले २२ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । यस्तै युवराज शर्माले २८ बलमा २६ रनको योगदान दिए ।
कर्णालीका दिनेश अधिकारी र राजकुमार शाहले समान दुई विकेट लिए । राजकुमारले अन्तिम ओभरमा दुई विकेट झार्दै लुम्बिनीको रन गति रोक्ने प्रयास गरेका थिए ।
१६२ रनको लक्ष्य पछ्याएको कर्णाली १७.४ ओभरमा ९६ रनमै अलआउट भयो । कर्णालीका दिनेश रावतले २५ र अरविन्द घर्ती मगरले २३ रन बनाए । अन्य ब्याटरले उल्लेख्य योगदान दिन नसक्दा कर्णालीले लक्ष्य भेटाउन सकेन ।
लुम्बिनीका अजय चौहानले २१ रन खर्चेर तीन विकेट लिए । निर्मल गुरुङले पनि १८ रन दिँदै दुई विकेट हात पारे ।
ब्याटिङ र बलिङ दुवैमा प्रभावशाली प्रदर्शन गरेको लुम्बिनीले कर्णालीलाई ६५ रनले हराउँदै प्रतियोगितामा महत्वपूर्ण जित दर्ता गरेको छ ।












