काठमाडौं । सुकुमवासी बस्तीबाट विस्थापित भएकाहरूलाई होल्डिङ सेन्टरबाट हटाउने सरकारको निर्णयप्रति नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ।

कांग्रेसले उक्त निर्णय तत्काल फिर्ता लिन र विस्थापित परिवारको सुरक्षित तथा दिगो पुनर्वास सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले होल्डिङ सेन्टर खाली गराउने निर्णय फिर्ता लिन सरकारसँग माग गर्ने निर्णय गरेको हो।

ADVERTISEMENT

बैठकपछि जारी विज्ञप्तिमा सरकारले सुकुमवासीका घर भत्काएर व्यवस्थापन र लालपुर्जाको आश्वासन दिएको तर महिनौँसम्म अनिश्चिततामा राखेर अहिले अस्थायी आश्रयबाट समेत हटाउन खोजेको भन्दै आपत्ति जनाइएको छ।

ADVERTISEMENT

कांग्रेसले सरकारको निर्णय संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्मविपरीत रहेको ठहर गरेको छ। ‘सरकारसँग कानुनको पालना गर्ने विवेक मात्र होइन, नागरिकको पीडा बुझ्ने करुणा पनि हुनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ।

घरबारविहीन नागरिकलाई आश्रय दिनु राज्यको दायित्व भएको उल्लेख गर्दै कांग्रेसले उनीहरूको बाँकी रहेको आश्रयसमेत खोस्न नहुने बताएको छ।

त्यस्तै, भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या दमन र विस्थापनबाट नभई न्यायपूर्ण, मानवीय र दीर्घकालीन समाधानबाट सम्बोधन गर्नुपर्ने कांग्रेसको भनाइ छ।

यसैबीच, होल्डिङ सेन्टरको समन्वय तथा सहजीकरणका लागि कांग्रेसले समिति गठन गरेको छ। केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा गठित समितिमा मदनकृष्ण श्रेष्ठ र प्रबल थापा सदस्य रहेका छन्।