काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको महाधिवेशनसम्बन्धी गतिविधि तत्काल अघि नबढाउन आग्रह गर्दै निर्वाचन आयोग र पार्टी केन्द्रीय कार्यालयलाई पत्र पठाएको छ।

इतर समूहको राष्ट्रिय भेला मूल आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले मंगलबार निर्वाचन आयोग र कांग्रेस केन्द्रीय कार्यालयलाई पत्राचार गरेका हुन्।

कांग्रेस नेता दीपक खड्काका अनुसार सर्वोच्च अदालतले दिएको निस्सालाई आधार बनाउँदै पार्टीका महाधिवेशनसम्बन्धी गतिविधि स्थगित गर्न आग्रह गरिएको हो।

ADVERTISEMENT

‘अदालतको निस्सालाई आधार मानेर पार्टीका गतिविधि स्थगित गर्न आयोग र पार्टी कार्यालयलाई अनुरोध गरेर डा. शशांकले चिठी पठाउनुभएको हो,’ खड्काले बताए।

ADVERTISEMENT

इतर समूहले पठाएको पत्रमा अदालतको अन्तिम फैसला नआएसम्म महाधिवेशनसम्बन्धी निर्णय रोक्न तथा दूरगामी प्रभाव पार्ने कुनै पनि निर्णय नगर्न आग्रह गरिएको छ।

पत्रमा कांग्रेसको आगामी १५औँ महाधिवेशन वा विशेष महाधिवेशनसम्बन्धी कुनै पनि सांगठनिक, प्राविधिक वा नीतिगत कार्यतालिका तत्काल स्थगित गर्न माग गरिएको छ।

त्यस्तै, अदालतको अन्तिम फैसला नआएसम्म पार्टीका तर्फबाट गरिने दीर्घकालीन प्रभाव पार्ने नीतिगत, राजनीतिक, सांगठनिक वा आर्थिक निर्णयलाई यथास्थितिमा राख्न पनि आग्रह गरिएको छ।

सर्वोच्च अदालतको पूर्ण इजलासबाट मुद्दाको अन्तिम फैसला नभएसम्म कांग्रेसका सम्पूर्ण सांगठनिक संरचनालाई साविककै अवस्थामा राख्दै अदालतको गरिमा र कानुनी प्रक्रियालाई सम्मान गर्नुपर्ने इतर समूहको माग छ।

सर्वोच्च अदालतले साउन २१ गते कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दा पुनरावलोकनका लागि अनुमति दिएको थियो। उक्त अनुमतिपछि कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवाद पुनः सुनुवाइको प्रक्रियामा गएको छ।

यससँगै कांग्रेसभित्र महाधिवेशनको तयारीलाई लिएर संस्थापन र इतर समूहबीचको विवाद थप पेचिलो बनेको छ।

यस्ता छन् पत्रहरू