काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री हुँदा गरेका काम गलत थिए भनेर आफ्नो मन्त्रिपरिषद्का कुनै पनि मन्त्रीले भन्न नसक्ने दाबी गरेका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले आफ्नो सरकारमा रवि लामिछाने गृहमन्त्री र गगन थापा स्वास्थ्य मन्त्री रहेको स्मरण गर्दै यस्तो दाबी गरेका हुन्।
‘रवि लामिछाने मेरो क्याबिनेटको गृहमन्त्री। गगन थापाजी दोस्रो पटक प्रधानमन्त्री हुँदा मेरो क्याबिनेटको स्वास्थ्य मन्त्री। अरू थुप्रै मेरा मन्त्रीहरू हुनुहुन्छ। मलाई लाग्छ, गगनजीले वा यहाँ हुने मेरो क्याबिनेटका कुनै पनि मन्त्रीले मैले गलत गरेँ कसैले भन्न सक्नुहुन्न,’ उनले भने।
प्रचण्डले तत्कालीन समयमा गगन थापाको सक्रियता, गतिशीलता र क्षमताबाट आफू प्रभावित भएको पनि बताए। उनले थापालाई आफूले राम्रो योजना ल्याउन आग्रह गर्दै त्यस्ता योजनालाई स्वतन्त्र रूपमा अघि बढाउन समर्थन गरेको स्मरण गरे।
‘गगन थापाको सक्रियता, गतिशीलता र क्षमता देखेर क्याबिनेटमा मैले उहाँलाई भन्ने गर्थेँ– राम्रो योजना ल्याउनुस्। स्वतन्त्रतापूर्वक तपाईंले ल्याएको योजनालाई शतप्रतिशत समर्थन हुन्छ,’ प्रचण्डले भने।
उनले त्यतिबेलै थापालाई भविष्यमा देशको नेतृत्व गर्नुपर्ने अवस्था आउन सक्ने बताएको समेत स्मरण गरे।
‘तपाईंले अन्ततः यो देशको नेतृत्व गर्नुपर्ने अवस्था अन्ततः आज आएको देख्छु,’ प्रचण्डले भने।
प्रचण्डले कांग्रेसका सबै नेता–कार्यकर्तालाई समेटेर विशाल राजनीतिक शक्ति निर्माण गर्न थापालाई शुभकामना पनि दिए। उनले महाधिवेशनबाट बाहिर रहेका तथा छुटेका साथीहरूलाई समेत समेट्ने थापाको प्रयास सफल होस् भन्ने शुभेच्छा व्यक्त गरे।







