काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार पनि साङ्गठनिक कार्यभारलगायत विभिन्न कार्यसूचीमाथि सदस्यहरूले धारणा राखेका छन् ।
पार्टी कार्यालय सानेपामा बसेको बैठकमा साङ्गठनिक कार्यभार, ‘नेपाली कांग्रेस तयार छ’ अभियान, स्थानीय निर्वाचन, प्रतिपक्षको भूमिका र सरकारका गतिविधिबारे सदस्यहरूले धारणा राखेका हुन् ।
बैठकमा भोटेकोसी तथा बूढीगण्डकीका बाढीपीडित र विस्थापित सुकुमबासीको अवस्था, १५औँ महाधिवेशनबाट पारित नीति तथा दृष्टिकोण र समसामयिक मुद्दा जनतामाझ लैजाने विषयमा पनि छलफल भइरहेको कांग्रेस केन्द्रीय सदस्य बलदेव तिमिल्सिनाले जानकारी दिए ।
त्यस्तै, भ्रातृ संस्थाको सबलीकरण, बाँकी जिल्ला तथा प्रदेश अधिवेशन सम्पन्न गर्ने, नागरिकका दैनिक जीविकासँग जोडिएका कठिनाइ सम्बोधन गर्ने र वडा तथा टोल तहसम्म पार्टी परिचालन गरी कांग्रेसलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने विषयमा पनि सदस्यहरूले धारणा राखेको उनले बताए ।
तिमिल्सिनाले एउटै पार्टीको नाम, झन्डा र चुनाव चिह्न दुरुपयोग गरी अन्यत्र गतिविधि सञ्चालन भइरहेको भन्दै त्यसलाई रोक्न निर्वाचन आयोगलाई आग्रह गर्न आफूले प्रस्ताव राखेको जानकारी दिए ।
विगतमा रुख चिह्नबाट निर्वाचित स्थानीय, प्रदेश र सङ्घीय तहका जनप्रतिनिधि तथा पदाधिकारीमध्ये पार्टीको मूल प्रवाहमा नदेखिएका र महाधिवेशन तथा नियमित प्रक्रियामा सहभागी नभएकालाई सचेत गराउनुका साथै आवश्यक कारबाही गर्नुपर्ने उनको भनाइ छ ।












