काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १५औँ महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेका छन् । उनले मंगलबारको केन्द्रीय कार्यसमिति बैठकमा १५औ महाधिवेशन पुस १६ देखि १९ सम्म गर्न प्रस्ताव गरेकाे केन्द्रीय सदस्य अजयबाबु शिवाकाेटीले जानकारी दिए ।

थापाले मंसिर १० गतेसम्म क्रियाशील सदस्यता टुंग्याउने, २४ गतेसम्म अन्तिम सूची प्रकाशित गर्ने र २७ गते वडा तहको अधिवेशन गर्न प्रस्ताव गरेका छन् । यस्तै पुस ५ र ६ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्न उनले प्रस्ताव गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक दिउँसो २ बजेदेखि पार्टी कार्यालय सानेपामा सुरु भएको हो । गत शुक्रबार र आइतबार सूचना टाँसेर स्थगित गरिएको बैठक आज फेरि बसेको हो ।

महामन्त्री थापाको काउन्टरमा सहमहामन्त्री महेन्द्र यादवले संस्थापन पक्षको तर्फबाट महाधिवेशनको कार्यतालिका पेस गर्ने बताइएको छ । तर विशेष महाधिवेशनको पक्षधरले बानेश्वरमा भेला गरेपछि संस्थापन पक्ष हच्किएको छ ।

यसअघि महामन्त्री थापाले मंसिर २६-२९ सम्म महाधिवेशनकाे मिति प्रस्ताव गरेका थिए । तर देउवा पक्षले मानेकाे छैन ।