काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्बासीको स्थायी व्यवस्थापन, बढ्दो महँगी र बाढीपछिको पुनर्निर्माणमा सरकार असफल भएको आरोप लगाएका छन्।

धादिङमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले सुकुम्बासी समस्या समाधानका लागि ठोस नीति तथा कार्यक्रम ल्याउन नसकेको बताए। प्रचारका लागि केही काम देखिए पनि वास्तविक सुकुम्बासीहरू बिचल्लीमा परेको उनको भनाइ थियो।

ADVERTISEMENT

‘सुकुम्बासीहरूको स्थायी व्यवस्थापनका निम्ति सरकारले ठोस कार्यक्रम, योजना र नीति ल्याउन सकेको छैन,’ पौडेलले भने, ‘यो सरकारले नै सुरु गरेर अलपत्र छाडेको विषय हो।’

ADVERTISEMENT

उनले पछिल्लो समय बढेको महँगीले सर्वसाधारणको जनजीवन कष्टकर बनेको पनि बताए। चामल, तरकारी, फलफूललगायत दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढे पनि सरकारले नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको उनको आरोप छ।

‘एक बोरा चामलको जति मूल्य पर्थ्यो, अहिले त्यसको एक हजारभन्दा बढी मूल्य पर्ने स्थिति बनेको छ,’ उनले भने।

सरकारले जनतालाई सेवा र सुशासनको अनुभूति गराउने दाबी गरे पनि छोटो अवधिमै बढेको मूल्यवृद्धिप्रति गम्भीरता नदेखाएको पौडेलको टिप्पणी थियो।

महामन्त्री पौडेलले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा भइरहेको ढिलाइप्रति पनि सरकारको ध्यानाकर्षण गराए। भोटेकोशी, बूढीगण्डकी र कालीगण्डकी आसपासका बासिन्दा बाढीबाट प्रभावित भएको उल्लेख गर्दै उनले धादिङको सदरमुकाम जोड्ने महत्वपूर्ण पुल बगाएपछि पनि अस्थायी तथा दीर्घकालीन पुल निर्माणको योजना अघि बढ्न नसकेको बताए।

उनले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण र आवागमन सहज बनाउन सरकारले तत्काल योजना ल्याउनुपर्नेमा जोड दिए।