म्याग्दी । चर्चित नेपाली सांगीतिक समूह नेपथ्यले १५ वर्षपछि म्याग्दीको बेनी बजारमा भव्य प्रत्यक्ष सांगीतिक प्रस्तुति दिएको छ। बुधबार साँझ बेनीस्थित खुलामञ्चमा आयोजित कार्यक्रममा गायक अमृत गुरुङका लोकप्रिय गीतमा हजारौँ दर्शक करिब दुई घण्टासम्म झुमेका छन्।

साँझ ६ बजे रातो टिसर्ट र जिन्सको ज्याकेटमा मञ्च उक्लिएका अमृतलाई दर्शकले हुटिङसहित स्वागत गरेका थिए। ‘आँगनैभरि’ गीतबाट प्रस्तुति सुरु गरेका उनले आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई मनोरञ्जन दिएका थिए।

ADVERTISEMENT

लगातार तीनवटा गीत प्रस्तुत गरेपछि उनले ३० वर्षअघि जोमसोममा गीत छायाङ्कन गरेर बेनी हुँदै पैदल पोखरा पुगेको सम्झना सुनाए। मंसिरको पहिलो साता धान काट्ने, दाइँ हाल्ने र हिउँदे बाली लगाउने समयको प्रसंग जोड्दै उनले पुर्खाहरूको ‘शिरफुले’ भाकाको खोजीमा बेनीबाट रुकुमसम्म पैदल पुगेको अनुभव पनि सुनाए। त्यसपछि ‘धौलागिरि’ गीत प्रस्तुत गरे।

ADVERTISEMENT

कार्यक्रममा उनले ‘भेडाको ऊनजस्तो’, ‘रामा रामा’, ‘खान्न म त लामपाते सुरती’, ‘चरी मर्‍यो सिसैको गोलीले’, ‘जोमसोमे बजारमा’, ‘उडायो रेलैले’, ‘हो कि होइन हो’, ‘जीवन हो घामछाया’ र ‘म नाचेँ छमछमी’ लगायतका गीत सुनाए। गीतसँगै आफैँ नाच्दै प्रस्तुति दिएका अमृतलाई दर्शकले स्वर र हुटिङमार्फत साथ दिएका थिए।

सांगीतिक प्रस्तुतिका बीच अमृतले नेपालको प्राकृतिक सौन्दर्यको चर्चा गर्दै सामाजिक सद्भाव, एकता र पुर्खाको योगदानको सम्मान गर्न आग्रह गरे। मानिस यो धरतीमा केही वर्षका लागि मात्रै पाहुना बनेर आएको उल्लेख गर्दै उनले पैसाको पछि मात्र नदौडिन र मानव कल्याणमा योगदान गर्न अपिल गरे।

समाजमा असहाय र अशक्त मानिस कठिन अवस्थामा बाँचिरहेको उल्लेख गर्दै उनले मानव कल्याणभन्दा ठूलो धर्म अरू हुन नसक्ने धारणा राखे।

कार्यक्रमको अन्तिमतिर उनले देश निर्माणका लागि सबै एकजुट हुनुपर्ने सन्देश दिँदै ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’ गीत प्रस्तुत गरे। त्यसपछि ‘जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना’ गाउँदा दर्शकको उत्साह थप चुलिएको थियो।

गुरुङले राजनीतिकर्मीलाई मनपरी नगर्न खबरदारी गर्दै कर्मचारीलाई विचलित नभई न्यायपूर्ण शासन सञ्चालन गर्न आग्रहसमेत गरे। विभिन्न जातजाति, धर्म र समुदायबीच एकता कायम राख्नुपर्नेमा जोड दिँदै उनले गाउँका घर खाली हुँदै गएको र खेतीयोग्य जमिन बाँझिने क्रम बढेकोप्रति चिन्ता व्यक्त गरे। यस क्रममा पर्वतको बाँसखर्कमा बजार र विदेशबाट फर्किएर सुन्तला खेती गरिरहेका किसानको प्रशंसा गरे।

करिब दुई घण्टा चलेको प्रस्तुतिमा अमृतलाई ड्रम्समा ध्रुव लामा, बेस गिटारमा सुविन शाक्य, मादलमा शान्तिबहादुर रायमाझी, किबोर्डमा दिनेशराज रेग्मी र लिड गिटारमा निरज गुरुङले साथ दिएका थिए।

म्याग्दी र कालीगण्डकी नदीको दोभानमा आयोजित कार्यक्रममा म्याग्दीका अतिरिक्त पर्वत, बागलुङ, कास्की र मुस्ताङबाट समेत दर्शक आएका थिए। स्थानीय आयोजक सोभन इन्टरटेनमेन्टका सञ्चालक सोभन श्रेष्ठका अनुसार बेनीमा १५ वर्षपछि नेपथ्यको सांगीतिक प्रस्तुति भएको हो।