काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण सफल र फलदायी होस् भन्दै शुभकामना दिएका छन्। उनले आन्तरिक राजनीतिक मतभेदभन्दा मुलुकको राष्ट्रिय हित सधैँ माथि रहने बताएका छन्।

प्रधानमन्त्री शाहको भारत भ्रमणबारे आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले प्रधानमन्त्रीको कार्यशैली र सरकारका विभिन्न विषयमा कांग्रेसको गम्भीर असहमति रहेको उल्लेख गरेका छन्। तर, अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्दा सबैले राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

ADVERTISEMENT

उनले प्रधानमन्त्रीको कूटनीतिक भ्रमणअघि राज्यका सम्बन्धित निकाय र राजनीतिक दलहरूसँग आवश्यक परामर्श नगरी अघि बढ्नु संस्थागत अभ्यास र लोकतान्त्रिक मूल्यका दृष्टिले उचित नभएको टिप्पणी गरेका छन्।

ADVERTISEMENT

‘आन्तरिक राजनीतिका सन्दर्भमा प्रधानमन्त्रीज्यूको कार्यशैली र थुप्रै विषयप्रति हाम्रा गम्भीर असहमति हुन सक्छन्। अझ, सिङ्गो देशको प्रतिनिधित्व गर्ने महत्त्वपूर्ण कूटनीतिक भ्रमणअघि राज्यका सम्बन्धित निकाय र राजनीतिक दलहरूसँग आवश्यक परामर्शसमेत नगरी अगाडि बढ्नु संस्थागत अभ्यास र लोकतान्त्रिक मूल्यको दृष्टिले उचित होइन,’ पौडेलले भनेका छन्।

यद्यपि, आन्तरिक राजनीतिक असहमति र मतभेदलाई अन्तर्राष्ट्रिय सम्बन्धमा हाबी हुन दिन नहुने उनले बताएका छन्। परराष्ट्र नीति र अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व हुने विषयमा आन्तरिक विमतिलाई थाती राखेर राष्ट्रिय स्वाभिमान र हितका पक्षमा उभिनु सबैको साझा दायित्व भएको उनको भनाइ छ।

पौडेलले प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा नेपालको दीर्घकालीन हितलाई केन्द्रमा राखेर द्विपक्षीय मुद्दाहरू स्पष्ट रूपमा उठाउने विश्वास व्यक्त गरेका छन्। विगतदेखि नेपालले निरन्तर उठाउँदै आएका विषयलाई उच्च प्राथमिकताका साथ प्रस्तुत गर्न पनि उनले प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।

नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक तथा जनस्तरमा समेत प्रगाढ रहेको उल्लेख गर्दै पौडेलले यसलाई सार्वभौम समानता, आपसी विश्वास र सम्मानका आधारमा थप सुदृढ बनाउनुपर्ने बताएका छन्।

दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रयाससँगै नेपालको राष्ट्रिय हितमा ठोस उपलब्धि हासिल गर्नु भ्रमणको मुख्य प्राथमिकता हुनुपर्ने उनको भनाइ छ। प्रधानमन्त्री शाहको भ्रमणले द्विपक्षीय सम्बन्ध थप मजबुत बनाउनुका साथै नेपालको दीर्घकालीन हितमा सकारात्मक परिणाम ल्याउने अपेक्षा गर्दै उनले सफलताको शुभकामना दिएका छन्।