काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फूलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच स्वास्थ्य सेवा तथा बैंकिङ सुविधामा सहकार्य गर्ने सम्झौता भएको छ। दुवै संस्थाबीच २०८३ मंसिर ९ गते समझदारीपत्रमा हस्ताक्षर भएको हो।
सम्झौताअनुसार नेपाल मणिपाल शिक्षण अस्पतालले मुक्तिनाथ विकास बैंकका कर्मचारी तथा बैंकका एटीएम, डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्तालाई अस्पतालबाट उपलब्ध हुने विभिन्न स्वास्थ्य सेवामा १० देखि २० प्रतिशतसम्म छुट प्रदान गर्नेछ।
यस सुविधाबाट बैंकका कर्मचारी र ग्राहकले अस्पतालका विभिन्न सेवा तथा सुविधामा सहुलियत प्राप्त गर्न सक्नेछन्। स्वास्थ्य उपचारमा लाग्ने खर्च कम गर्न यस्तो सहकार्य गरिएको बैंकले जनाएको छ।
त्यस्तै, मुक्तिनाथ विकास बैंकले नेपाल मणिपाल शिक्षण अस्पतालमा कार्यरत कर्मचारी तथा उनीहरूका परिवारका सदस्यलाई सहुलियतपूर्ण बैंकिङ सेवा उपलब्ध गराउनेछ। बैंकले अस्पतालका कर्मचारीलाई न्यूनतम ब्याजदरमा प्रोफेसनल लोन, होम लोन, अटो लोन, व्यावसायिक कर्जालगायतका सुविधा प्रदान गर्नेछ।
बैंकका अनुसार यस सहकार्यले दुवै संस्थाबीचको संस्थागत सम्बन्ध थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। बैंकका ग्राहक तथा कर्मचारीले सहुलियतपूर्ण स्वास्थ्य सेवा पाउने र अस्पतालका कर्मचारीले सहज तथा प्राथमिकतायुक्त बैंकिङ सेवा प्राप्त गर्नेछन्।
स्वास्थ्य सेवा र वित्तीय सेवाबीच सहकार्य विस्तार गर्ने उद्देश्यले गरिएको यस सम्झौताले ग्राहक सन्तुष्टि, संस्थागत सम्बन्ध र पारस्परिक लाभ अभिवृद्धिमा योगदान पुर्याउने विश्वास बैंकले लिएको छ।












