नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले अध्यक्ष, सञ्चालक र सीईओविरुद्धको मुद्दाले बैंकिङ सेवा तथा दैनिक कारोबारमा कुनै असर नपारेको स्पष्ट पारेको छ।नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बैंकका अध्यक्ष, सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरुद्ध दायर भएको मुद्दाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नियमित बैंकिङ कार्यसम्पादन र ग्राहक सेवामा कुनै असर नपरेको स्पष्ट पारेको हो।

बैंकका अनुसार प्रचलित कानुन, नियामक निकायका व्यवस्था तथा बैंकिङ मान्यताअनुसार गरिएका नियमित कामकारबाहीलाई लिएर मुद्दा दायर भएको हो। कानुनी प्रक्रिया अघि बढिरहे पनि त्यसबाट बैंकको दैनिक सञ्चालनमा कुनै अवरोध नआएको बैंकले जनाएको छ।

ADVERTISEMENT

बैंकले आफ्नो नेतृत्व तथा व्यवस्थापन यथावत् रहेको बताउँदै संस्थाको सबलता र ग्राहकको हितलाई प्राथमिकतामा राखेर सबै सेवा सुरक्षित र निर्वाध रूपमा सञ्चालन भइरहेको जनाएको छ। साथै, पछिल्लो समय सार्वजनिक भएका अपुष्ट सूचना तथा अनुमानका आधारमा धारणा नबनाउन बैंकले निक्षेपकर्ता, ग्राहक, शेयरधनी तथा अन्य सरोकारवालालाई आग्रह गरेको छ।

ADVERTISEMENT

बैंकले आधिकारिक सूचनालाई मात्र आधार बनाउन अनुरोध गर्दै बैंकिङ प्रणालीप्रतिको जनविश्वास र वित्तीय स्थायित्व कायम राख्न सम्बन्धित निकायबाट आवश्यक समन्वय तथा सहयोगको अपेक्षा गरेको छ।

साथै, बैंकले आफ्ना निक्षेपकर्ता, ग्राहक, शेयरधनी तथा सरोकारवालाबाट प्राप्त हुँदै आएको विश्वास र सद्भावप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गरेको जनाएको छ।

ADVERTISEMENT