काठमाडौं । नबिल बैंकले भिसा इन्टरनेसनलद्वारा प्रदान गरिने दुई प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ।

बैंकले यस वर्ष ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस–इसुइङ’ (Excellence in Contactless – Issuing) र ‘एक्सिलेन्स इन ई–कमर्स एक्वायरिङ बिजनेस प्रिन्सिपल क्लाइन्ट’ (Excellence in E-Commerce Acquiring Business Principal Client) विधामा अवार्ड जितेको हो।

ADVERTISEMENT

काठमाडौंस्थित मेरियट होटलमा सोमबार आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’मा नबिल बैंकका प्रतिनिधिले दुवै विधाका अवार्ड ग्रहण गरेका थिए। बैंकले यसअघि पनि यी विधामा अवार्ड प्राप्त गर्दै आएको जनाएको छ।

ADVERTISEMENT

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले अवार्डले ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राख्दै नवीनता तथा नवप्रवर्तनलाई निरन्तरता दिन थप ऊर्जा मिलेको बताए।

“हामीलाई यस अवार्डले विश्वसनीय र डिजिटल रूपमा सशक्त नेपालको निर्माणप्रति प्रतिबद्ध रहन थप प्रेरणा प्रदान गरेको छ,” उनले भने।

भिसा इन्टरनेसनल कार्ड भुक्तानी सेवा प्रदायक कम्पनी हो। नेपालमा कम्पनीले हरेक वर्ष भिसा लिडरसिप कन्क्लेभ आयोजना गर्दै आएको छ। नेपालको डिजिटल भुक्तानी प्रणालीको विकास र विस्तारमा भिसाले महत्त्वपूर्ण उत्प्रेरकको भूमिका निर्वाह गर्दै आएको छ।

नबिल बैंक नेपालका अग्रणी वाणिज्य बैंकमध्ये एक हो। चार दशकभन्दा लामो बैंकिङ यात्रामा बैंकले नवीन सेवा तथा प्रविधिमार्फत बैंकिङलाई थप सहज, आधुनिक र पहुँचयोग्य बनाउँदै आएको छ।

‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणालाई अघि बढाउँदै आएको बैंकले ग्राहक, समुदाय र समग्र देशको अर्थतन्त्रका लागि समावेशी तथा समृद्ध भविष्य निर्माण गर्ने लक्ष्य राखेको जनाएको छ।

बैंकका अनुसार उसले देशभर २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटीएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।