नयाँ दिल्ली । बाढीबाट प्रभावित नेपालको उद्योग व्यवसाय पुनःसञ्चालन र स्थानीय अर्थतन्त्रलाई गति दिन भारतीय उद्योग परिसंघ (सीआईआई) ले सहयोग गर्ने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) सँगको साझेदारीमा परिसंघले प्रभावित लघु, साना तथा मझौला उद्यम (एमएसएमई) को पुनःस्थापना, रोजगारी सिर्जना र स्थानीय आपूर्ति शृंखला सुधारलाई प्राथमिकता दिएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा सीआईआई र एफएनसीसीआईबीच यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीअनुसार कार्यक्रमको पहिलो चरणमा स्वास्थ्य तथा मानवीय सहायता उपलब्ध गराइनेछ भने त्यसपछि प्रभावित परिवारको आम्दानीका स्रोत र उद्योग व्यवसाय पुनःस्थापनाका कार्यक्रम अघि बढाइनेछन् ।
दुवै संस्थाले तयार पारेको १३ पृष्ठको कार्ययोजनाअनुसार पहिलो चरण सन् २०२६ नोभेम्बरदेखि २०२७ मार्चसम्म सञ्चालन गर्ने प्रस्ताव छ । दोस्रो चरणमा भने बाढीबाट क्षति पुगेका व्यवसाय पुनःसञ्चालन, रोजगारी सिर्जना र स्थानीय आर्थिक गतिविधि विस्तारमा जोड दिइनेछ ।
एमएसएमई पुनःसञ्चालन र बजार पहुँचमा जोड
कार्ययोजनाले लघु, साना तथा मझौला उद्यमलाई स्थानीय अर्थतन्त्र पुनःस्थापनाको मुख्य आधार मानेको छ । त्यसका लागि प्रभावित उद्योग व्यवसाय र स्थानीय मूल्य शृंखलामा परेको क्षतिको द्रुत मूल्यांकन गरिनेछ । एफएनसीसीआईले प्रभावित क्षेत्रमा गरेको सर्वेक्षण तथा अध्ययनलाई पनि क्षति पहिचानको आधार बनाइनेछ ।
क्षतिको मूल्यांकनपछि प्रभावित उद्यमलाई पुनःसञ्चालन गर्न प्राविधिक परामर्श, वित्तीय स्रोतसम्बन्धी जानकारी र बजार पहुँच विस्तारमा सहयोग गर्ने प्रस्ताव छ । कृषि, पशुपालन, साना व्यापार तथा सेवामूलक व्यवसायका लागि आवश्यक औजार, उपकरण, उत्पादन सामग्री र प्रारम्भिक सहयोग उपलब्ध गराउने योजना पनि कार्ययोजनामा समेटिएको छ ।
नेपाली र भारतीय उद्योगी व्यवसायीबीच व्यवसायदेखि व्यवसायसम्मको सहकार्य (बीटुबी) कार्यक्रम सञ्चालन गरी प्रभावित क्षेत्रका व्यवसायीलाई भारतीय उद्योगीसँग जोडिनेछ । यसबाट नयाँ व्यापारिक साझेदारी, बजार विस्तार र आपूर्ति शृंखला पुनःस्थापनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
त्यस्तै, स्थानीय बजारको माग र पुनर्निर्माणको आवश्यकताअनुसार सीप विकास तथा व्यावसायिक तालिम सञ्चालन गर्ने योजना छ । तालिमपछि प्रभावित परिवारलाई स्थानीय रोजगारदाता र एफएनसीसीआईका सदस्य व्यवसायसँग जोड्ने प्रस्ताव गरिएको छ । यसमा महिला नेतृत्वका परिवार र अपांगता भएका व्यक्तिलाई प्राथमिकता दिइनेछ ।
पहिलो चरणमा स्वास्थ्य तथा मानवीय सहायता
व्यवसाय पुनःस्थापनाका कार्यक्रमअघि प्रभावित क्षेत्रमा स्वास्थ्य तथा मानवीय सहायता उपलब्ध गराइनेछ । यसअन्तर्गत स्वास्थ्य शिविर सञ्चालन, निःशुल्क औषधि वितरण र सरसफाइ सामग्री उपलब्ध गराउने प्रस्ताव छ ।
कार्ययोजनामा दुईवटा आधारभूत जीवनरक्षक सुविधा (बीएलएस) सहितका एम्बुलेन्स नेपालका दुई अस्पताललाई हस्तान्तरण गर्ने योजना पनि छ । एउटा एम्बुलेन्सले वार्षिक करिब ४०० बिरामीलाई अस्पताल पुर्याउन र ६ हजार नागरिकसम्म स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सक्ने अनुमान गरिएको छ । दुई एम्बुलेन्सबाट वार्षिक ८०० बिरामीलाई सेवा दिनुका साथै १२ हजार नागरिकसम्म स्वास्थ्य पहुँच विस्तार गर्ने लक्ष्य राखिएको छ ।
रसुवा, नुवाकोट र धादिङ प्राथमिकतामा
कार्यक्रमको प्रारम्भिक कार्यक्षेत्रमा बागमती प्रदेशका रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्र समेटिएका छन् । आवश्यकताका आधारमा गोरखा, बागलुङ, मुस्ताङ र मनाङसम्म कार्यक्रम विस्तार गर्न सकिने कार्ययोजनामा उल्लेख छ ।
कार्यक्रम कार्यान्वयनका लागि नेपाल सरकारको स्वीकृति र सम्बन्धित निकायसँग समन्वय आवश्यक हुनेछ । सीआईआईले भारत सरकार तथा सम्बन्धित निकायसँग समन्वय, स्रोत परिचालन र कार्यान्वयन साझेदारको पहिचान गर्नेछ भने एफएनसीसीआईले नेपाल सरकार, स्थानीय तह र व्यवसायी समुदायसँग समन्वय गर्नेछ ।
समझदारीपत्रमा सीआईआई अन्तर्राष्ट्रिय परिषद्का सहअध्यक्ष तथा सन इन्टरनेसनल लिमिटेडका अध्यक्ष विक्रमजित सिंह साहनी र एफएनसीसीआईका उपाध्यक्ष कृष्णप्रसाद शर्माले हस्ताक्षर गरेका छन् ।
समझदारी एक वर्षका लागि लागू हुनेछ । तर, यसले तत्काल कुनै पनि पक्षलाई निश्चित आर्थिक दायित्व सिर्जना गरेको छैन । कार्यक्रमका लागि आवश्यक वित्तीय स्रोत र गतिविधिबारे छुट्टै लिखित सहमति गर्नुपर्ने व्यवस्था छ । दोस्रो चरणका आर्थिक पुनःस्थापना कार्यक्रम पनि पहिलो चरणको समीक्षा र छुट्टै स्वीकृतिपछि मात्र अन्तिम रूप दिइने समझदारीपत्रमा उल्लेख छ ।












