काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वैशाख २२ गते सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । मत परिणाम सार्वजनिक भएसँगै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले विजयी प्रमाणपत्र समेत प्राप्त गरेका छन् ।

महासंघको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बनेका छन् । निर्वाचन परिणामले महासंघभित्र विभिन्न समूहबीचको शक्ति सन्तुलन स्पष्ट पारेको छ ।एसोसिएट उपाध्यक्ष पदमा प्रवलजंग पाण्डे विजयी भएका छन् । उनले १ हजार ७९ मत प्राप्त गर्दा उनकी प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठले ७५० मत प्राप्त गरिन् । पाण्डे ३२९ मतको अन्तरले विजयी भएका हुन् ।

ADVERTISEMENT

प्रवलजंग पाण्डे

लोमस फर्मास्युटिकल्स र कसमस सिमेन्टका सञ्चालक तथा सिटिजन्स बैंकका अध्यक्षसमेत रहेका पाण्डेको जितलाई एसोसिएट क्षेत्रमा बलियो समर्थनका रूपमा हेरिएको छ ।

एसोसिएटतर्फ १७ सदस्य निर्वाचित भएका छन् । सचिन ढकालले सर्वाधिक १ हजार ३१८ मत प्राप्त गर्दै शीर्ष स्थान हासिल गरे । हेमन्त गोल्छाले १ हजार २०२, अम्बिकाप्रसाद पौडेलले १ हजार १८३, उज्ज्वलकुमार श्रेष्ठले १ हजार १५६, शक्तिकुमार वेगानीले १ हजार १४२, ऋषि अग्रवालले १ हजार १२२ र सुशील थापाले १ हजार ९४ मत प्राप्त गरी विजयी भए ।

त्यस्तै राजेश कुमार अग्रवाल, सुयस प्याकुरेल, रामशरण भण्डारी, बाबुकाजी कार्की, दिवश न्यौपाने, कृष्णलाल महर्जन, प्रियराज रेग्मी, ईश्वरबहादुर जीसी, सुरज उप्रेती र बटु लामिछाने पनि निर्वाचित भएका छन् ।

वस्तुगत उपाध्यक्ष पदमा नरेशलाल श्रेष्ठ विजयी भएका छन् । उनले ६३ मत प्राप्त गर्दै शिवप्रसाद घिमिरेलाई ३ मतले पराजित गरे । घिमिरेले ६० मत प्राप्त गरेका थिए ।वस्तुगततर्फ १६ कार्यकारिणी सदस्य पदका लागि भएको निर्वाचनमा १३ जना निर्वाचित भएका छन् भने बाँकी ३ सदस्यको टुंगो गोलाप्रथाबाट लगाइने भएको छ ।

नरेश लाल श्रेष्ठ

अरनिको राजभण्डारीले सर्वाधिक ७० मत प्राप्त गरे । विदुर धमला र सागर ढकालले समान ६८, रवीन पुरीले ६६, राजकुमार कार्कीले ६३, पशुपतिदेव पाण्डे र लिलेन्द्र प्रधानले समान ६२ मत प्राप्त गरी विजयी भएका छन् ।

महिला सदस्यतर्फ सुनिता नेहाफुकी ५४ मतसहित निर्वाचित भएकी छन् ।यस्तै निराजन चलाउने, रघुनन्दन मारु, विप्लव अधिकारी र सुरज बन्जाडेले समान ५० मत प्राप्त गरेका छन् । उनीहरूमध्ये दुई जनाको टुंगो गोलाप्रथाबाट लगाइनेछ ।

जिल्लानगर उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका छन् । शर्माले ८७ र श्रेष्ठले ८० मत प्राप्त गरेका छन् । दुवै उम्मेदवार अञ्जन श्रेष्ठ समूहका हुन् ।वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार हेमराज ढकाल समूहका उमेश डालमिया र कल्पना गैरेले क्रमशः ५० र ३० मत मात्र प्राप्त गरे ।

कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ

जिल्लानगर खुलातर्फ अर्जुनकुमार श्रेष्ठ, प्रयास कार्की, कृष्ण कातुवाल, लक्ष्मणराज पौडेल, छत्रधर आत्रेय, मोहनप्रसाद श्रेष्ठ, सन्तोष खड्का, दीपक नेपाल, केशवप्रसाद भण्डारी, हरिप्रसाद अर्याल, ताराबहादुर कार्की, शंकर गिरी, उज्ज्वलप्रसाद कसजु र सुदर्शन कार्की निर्वाचित भएका छन् । महिला सदस्यतर्फ गीता अमात्य र हिरा भट्टराई विजयी भएका छन् ।

निर्वाचन परिणामले महासंघमा अञ्जन श्रेष्ठको नेतृत्वमा नयाँ शक्ति समीकरण स्थापित भएको देखिएको छ । अब निजी क्षेत्रको साझा एजेन्डा अघि बढाउने जिम्मेवारी नयाँ कार्यसमितिमाथि रहनेछ ।