काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले राष्ट्रिय खेलकुद प्रतियोगिताले खेलकुदको विकाससँगै राष्ट्रिय एकता, आपसी सद्भाव र भाइचारा मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको अवसरमा कर्णालीवासीलाई शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले प्रतियोगिताले खेलाडीको प्रतिभा पहिचान गर्न, प्रतिस्पर्धाको अवसर प्रदान गर्न र खेल पूर्वाधार विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका हुन् ।

ADVERTISEMENT

यसपटक कर्णाली प्रदेशले पहिलोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको उल्लेख गर्दै उनले प्रतियोगिता सफल बनाउन नागरिकस्तरबाटै साथ र समर्थन गर्न आग्रह गरेका छन् ।

ADVERTISEMENT

दसौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुने तय भएको छ । यद्यपि, प्रतियोगिताका केही खेल मङ्सिर ८ गतेदेखि नै सुरु हुनेछन् ।

प्रतियोगितामा राष्ट्रियस्तरका ८ हजारभन्दा बढी खेलाडी, अफिसियल तथा खेल अधिकारी सहभागी हुनेछन् । कर्णाली प्रदेशका विभिन्न जिल्लामा खेलहरू सञ्चालन हुनेछन् ।

प्रधानमन्त्री शाहले राष्ट्रिय खेलकुदले कर्णालीको भूगोल, संस्कृति, इतिहास र आर्थिक सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउनसमेत महत्त्वपूर्ण योगदान पुर्‍याउने बताएका छन् ।

हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित २०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिताका हालसम्म नौवटा संस्करण मात्रै आयोजना हुनु दुःखद भएको उनको भनाइ छ । आगामी दिनमा प्रतियोगितालाई नियमित रूपमा आयोजना गर्न र यसको स्तर अभिवृद्धि गर्न सरकारले गम्भीरतापूर्वक काम गर्ने प्रतिबद्धतासमेत उनले जनाएका छन् ।

प्रधानमन्त्री शाहले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सफल आयोजनाका लागि शुभकामना व्यक्त गर्दै ‘जय कर्णाली, जय खेलकुद, जय नेपाल’ भनेका छन् ।