काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज आइतबार भारतको औपचारिक भ्रमणमा जाँदै छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको यो उनको प्रधानमन्त्रीका रूपमा पहिलो भारत भ्रमण हो।
प्रधानमन्त्री शाह नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १ः४५ बजे नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ। उनीसँग ३४ सदस्यीय नेपाली प्रतिनिधिमण्डल रहनेछ। टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाललगायत उच्च सरकारी अधिकारी सहभागी हुनेछन्।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन्। दुवै देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय छलफल हुनेछ। उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ। भारतीय विदेशमन्त्री एस. जयशंकरले आइतबार साँझ प्रधानमन्त्री शाहसँग भेट गर्नेछन्।
भ्रमणमा नेपालले लामो समयदेखि उठाउँदै आएको थप हवाई प्रवेश मार्गको विषयलाई प्राथमिकता दिइनेछ। विशेषगरी महेन्द्रनगर र भैरहवाबाट भारतीय आकाश हुँदै अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न पाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
त्यस्तै, आर्थिक सहयोग, व्यापार तथा पारवहन, लगानी, ऊर्जा, पूर्वाधार र विकास आयोजनासम्बन्धी विषय पनि वार्ताको एजेन्डामा छन्। भारतले आर्थिक सहयोग प्याकेज घोषणा गर्न सक्ने र केही नयाँ आयोजनाको शिलान्यास तथा सम्पन्न आयोजनाको उद्घाटन गर्ने तयारीसमेत रहेको समाचारमा उल्लेख छ।
भ्रमणका क्रममा अयोध्या-जनकपुर रेल सेवा, पनौतीमा निर्माण भएको नेपाल प्रहरी एकेडेमीको नयाँ भवन, भैरहवाको एकीकृत जाँच चौकी तथा पेट्रोलियम पाइपलाइन विस्तारसँग सम्बन्धित आयोजनाले पनि प्राथमिकता पाउने अपेक्षा गरिएको छ। यद्यपि, सबै विषयमा अन्तिम सहमति भइसकेको छैन।












