काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जीवित देवता श्रीगणेश र श्रीभैरवका लागि छुट्टै निवास निर्माणले जीवित सम्पदा संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने बताएकी छन् ।
शनिबार हनुमानढोका दरबार क्षेत्रमा आयोजित शिलान्यास कार्यक्रममा बोल्दै डंगोलले जीवित देवी कुमारीसँगै श्रीगणेश र श्रीभैरवका लागि पनि उपयुक्त निवास आवश्यक रहेको बताइन् ।
उनले इन्द्रजात्रालगायतका सांस्कृतिक पर्वमा जीवित देवीदेवताको रथयात्रा हुने भएकाले गणेश र भैरवको गरिमाअनुसारको निवास निर्माण महत्वपूर्ण रहेको उल्लेख गरिन् । भवन निर्माणका लागि लामो प्रशासनिक प्रक्रिया पूरा गर्नुपरेको र पुरानो संरचना भत्काउनसमेत विभिन्न प्रयास गर्नुपरेको उनको भनाइ छ ।
डंगोलले राजनीतिक तथा सांस्कृतिक परिवर्तनका विभिन्न कालखण्डमा पनि यस विषयलाई सरोकारवालाले निरन्तर उठाउँदै आएको बताइन् । निर्माण प्रक्रिया अघि बढाउन पूर्व गणेश र भैरवका पुजारी, अग्रज तथा विभिन्न सरोकारवाला निकायको योगदान महत्वपूर्ण रहेको उनले उल्लेख गरिन् ।
उनका अनुसार नयाँ भवन निर्माणले जीवित सांस्कृतिक सम्पदाको संरक्षण गर्नुका साथै हनुमानढोका दरबार क्षेत्रको ऐतिहासिक गरिमा थप बढाउने विश्वास गरिएको छ ।
उनले निर्माण कार्यलाई सम्पदामैत्री, आकर्षक र बलियो बनाउन निरन्तर अनुगमन, सुझाव तथा सहयोग गर्न स्थानीयवासी र सरोकारवालालाई आग्रह गरेकी छन् ।












