काठमाडौं । काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा इन्द्रजात्राको तयारी तीव्र पारिएको छ। इन्द्रजात्राका मुख्य आकर्षण श्री गणेश, श्री भैरव र श्री कुमारीका रथ निर्माण तथा मर्मतसम्भारको काम धमाधम भइरहेको छ।

ADVERTISEMENT

जात्राका क्रममा विधिवत् रूपमा रथ तान्न सकिने गरी काठका संरचना जाँच गर्ने, आवश्यक मर्मत तथा रंगरोगन गर्ने र रथ सजाउने काम भइरहेको छ।

ADVERTISEMENT

काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक तथा धार्मिक पर्वका रूपमा मनाइने इन्द्रजात्रामा जीवित देवी कुमारी, गणेश र भैरवका रथ तान्ने परम्परा छ। जात्राका क्रममा हनुमानढोका, वसन्तपुर तथा आसपासका क्षेत्रमा विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन हुने गर्छन्।

ADVERTISEMENT

इन्द्रजात्रामा लाखे नाच, पुलुकिसी, विभिन्न देवीदेवताका नाच तथा परम्परागत बाजागाजासहितका सांस्कृतिक गतिविधि पनि प्रस्तुत गरिन्छ। जात्रामा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट श्रद्धालु तथा सर्वसाधारण सहभागी हुने भएकाले हनुमानढोका दरबार क्षेत्र आसपासमा विशेष चहलपहल हुने गर्छ।

जात्रालाई व्यवस्थित र सुरक्षित बनाउन रथयात्रा हुने मार्ग, भीड व्यवस्थापन, सुरक्षा तथा आवश्यक पूर्वाधारको तयारीसमेत अघि बढाइने भएको छ।

काठमाडौंको मौलिक संस्कृति, परम्परा र ऐतिहासिक सम्पदासँग जोडिएको इन्द्रजात्राको तयारीमा स्थानीय समुदाय र गुठीहरूको समेत सक्रिय सहभागिता रहने गरेको छ।