काठमाडौं, शेयर बजारमा यो साता लगानीकर्ताको उत्साह कमजोर देखिएको छ । नेप्से परिसूचकमा सामान्य उतारचढाव देखिए पनि कारोबार रकममा आएको ठूलो गिरावटले बजारमा लगानीकर्ताको सक्रियता र खरिद चाप कमजोर हुँदै गएको संकेत गरेको छ । तिहारको लामो बिदापछि खुलेको शेयर बजारले अपेक्षित गति लिन नसक्दा नेप्से परिसूचकसँगै कारोबार रकम पनि उल्लेख्य रूपमा खुम्चिएको हो ।
यो साता नेप्सेको नियमित कारोबार चार कार्य दिन मात्रै सञ्चालन भएको थियो । चार दिनको कारोबारमध्ये तीन दिन नेप्से परिसूचक घटेको छ भने एक दिन मात्रै सामान्य सुधार आएको छ । साताको अन्तिम कारोबार दिन शुक्रबारसम्म आइपुग्दा नेप्से परिसूचक २ हजार ६२१ दशमलव २९ बिन्दुमा झरेको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४७७ दशमलव ०१ बिन्दुमा पुगेको छ ।
बजारको अवस्थालाई कारोबार रकमसँग तुलना गर्दा लगानीकर्ताको मनोबल कमजोर रह्यो । यो साता ३५३ वटा कम्पनीको शेयर कारोबार हुँदा १ लाख ७१ हजार २१८ पटकको कारोबारमा ४ करोड १४ लाख ९६ हजार ३६५ कित्ता शेयर किनबेच भएका छन् । यसबाट कुल १६ अर्ब ६५ करोड १३ लाख १२ हजार ३२४ रुपैयाँ बराबरको कारोबार भएको छ । जबकि तिहारअघिको साता ३५८ वटा कम्पनीको शेयर कारोबार हुँदा २ लाख ६४ हजार ४८९ पटकको कारोबारमा ७ करोड ९५ लाख ५४ हजार ४०९ कित्ता शेयर किनबेच भएका थिए । उक्त साता कुल कारोबार रकम २८ अर्ब ४५ करोड ८५ लाख १८ हजार ५६६ रुपैयाँ पुगेको थियो ।
यसरी तुलना गर्दा तिहारअघिको साताको तुलनामा यो साता कारोबार रकम ११ अर्ब ८० करोड ७२ लाख ६ हजार २४२ रुपैयाँले घटेको छ । अर्थात् कारोबार रकममा करिब ४१ दशमलव ४९ प्रतिशतको गिरावट आएको छ । यो साता कारोबार भएको शेयर कित्ता करिब ४८ प्रतिशतले र कारोबार संख्या करिब ३५ प्रतिशतले घटेको छ ।
यो पहिलो दिन सोमबार सार्वजनिक बिदा परेका कारण नेप्से बन्द रहेको थियो । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक १२ दशमलव ७९ अंकले घटेर २ हजार ६३६ दशमलव १० बिन्दुमा झरेको थियो । सोही दिन सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ३२ अंकले घटेर ४७७ दशमलव २१ बिन्दुमा सीमित भएको थियो ।
बुधबार पनि बजारमा गिरावटले निरन्तरता पायो । उक्त दिन नेप्से परिसूचक ११ दशमलव ०५ अंकले घटेर २ हजार ६२५ दशमलव ०५ बिन्दुमा झरेको थियो । सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ०५ अंकले घटेर ४७६ दशमलव १५ बिन्दुमा ओर्लिएको थियो ।
लगातार दुई दिनको गिरावटपछि बिहीबार बजारमा सामान्य सुधार देखियो । उक्त दिन नेप्से परिसूचक ३ दशमलव ६२ अंकले बढेर २ हजार ६२८ दशमलव ६७ बिन्दुमा पुगेको थियो । सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव ७८ अंकले बढेर ४७६ दशमलव ९३ बिन्दुमा पुगेको थियो ।
तर, यो सुधारले बजारमा नयाँ उत्साह ल्याउन सकेन । साताको अन्तिम कारोबार दिन शुक्रबार पुनः नेप्से परिसूचक ७ दशमलव ३८ अंकले घटेर २ हजार ६२१ दशमलव २९ बिन्दुमा झरेको छ । यद्यपि, सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलव ०७ अंकले बढेर ४७७ दशमलव ०१ बिन्दुमा पुगेको छ ।
यो साताको समग्र कारोबारलाई हेर्दा बजारमा गिरावटको दबाब कायम नै रह्यो । साताको सुरुवाती दुई दिनको गिरावटलाई बिहीबारको सामान्य सुधारले पूर्ति गर्न सकेन भने शुक्रबारको पुनः गिरावटले बजारमा सुधारको अवस्था देखिएन ।
दैनिक नेप्से कारोबार तालिका













