काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप–३१ लाई हिमालको आवाज सुनिने सम्मेलन बनाउन आग्रह गरेकी छन् ।
टर्कीको आन्ताल्यामा जारी कोप–३१ को समापन मन्तव्य दिँदै मन्त्री चौधरीले हिमालको महत्त्व तल्लो तटीय क्षेत्रदेखि समुद्रसम्म उत्तिकै रहेको बताएकी हुन् । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा मात्रै सीमित नरहने भन्दै उनले हिमालको संरक्षणलाई विश्वव्यापी जलवायु बहसको प्राथमिकतामा राख्नुपर्ने धारणा राखिन् ।
उनले ठूलो जनधनको क्षति गरेको रसुवा–भोटेकोशी बाढीपछि पुनःस्थापनाका लागि आवश्यक ५ अर्ब अमेरिकी डलर जुटाउन नेपालले संघर्ष गर्नुपरेको बताइन् ।
‘यो केवल वित्तीय अभाव होइन, न्याय र समानताको अभाव हो,’ सम्मेलनमा उनले भनिन्, ‘नेपालका जनता हेरिरहेका छन् । रसुवा–भोटेकोशी बाढीमा आफ्ना प्रियजन गुमाएका ३४ देशका परिवारहरू हेरिरहेका छन् ।’
मन्त्री चौधरीले जलवायु संकटसँग जुध्न विज्ञानमा आधारित बहुप्रकोप पूर्वसूचना प्रणाली विकास गर्नुपर्नेमा जोड दिइन् । त्यसैगरी जलवायु वित्तको सहज उपलब्धता, जलवायु न्याय र समानतालाई अन्तर्राष्ट्रिय समुदायले प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो ।
उनले हिमाली मुलुकले जलवायु परिवर्तनका कारण भोगिरहेका क्षति र चुनौतीलाई अन्तर्राष्ट्रिय मञ्चमा उचित स्थान दिनुपर्ने सन्देशसमेत दिएकी छन् ।












