काठमाडौँ । नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुने भेलाका लागि अधिकांश सहभागी काठमाडौँ आइसकेका छन् ।
पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशा दिन र आगामी स्थानीय तह निर्वाचनको तयारीका लागि भेला आयोजना गरिएको हो ।
भेलाका एजेन्डा सोमबार बसेको पार्टी स्थायी कमिटी बैठकले अनुमोदन गरेको छ । भट्टका अनुसार गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयको कार्यान्वयनमा एकरूपता कायम गर्ने विषयमा छलफल हुनेछ । साथै पार्टीले गर्नुपर्ने १५ वटा कामबारे पनि भेलामा समीक्षा तथा छलफल गरिनेछ ।
भेलामा केन्द्रीय कमिटीका सदस्य, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष, जनसङ्गठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, सङ्घीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी हुनेछन् ।
भेलाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । उद्घाटन सत्रमा ओलीसहित वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षहरू रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिए ।












