जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेल लामिछानेले जनकपुरधामस्थित गङ्गासागर पोखरीको छठघाटमा सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका छन्।
छठ पर्व मनाउन जनकपुरधाम पुगेका लामिछाने दम्पतीले आइतबार साँझ अस्ताउँदो सूर्य र सोमबार बिहान उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिएका हुन्।
उनीहरू जनकपुरधाम उपमहानगरपालिका–२ स्थित शिवचोकमा रहेको नरेश साहको घरबाट पूजाका सामग्रीसहित ढाकी बोकेर गङ्गासागर छठघाट पुगेका थिए। उनीहरूसँगै परिवारका अन्य सदस्य तथा शुभेच्छुक पनि छठघाट पुगेका थिए।
यसैबीच, सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिनसम्म मनाइने यस वर्षको छठ पर्व विधिवत् रूपमा सम्पन्न भएको छ।












