दमक । छठ पर्वलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन झापाको दमकस्थित रतुवा खोला किनारमा १०० जना प्रहरी परिचालन गरिने भएको छ । पूजा स्थलमा प्रहरी सहायता कक्ष स्थापना गर्नुका साथै ड्रोनमार्फत निगरानी गर्ने तयारी गरिएको छ ।
इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक प्रमोद खड्काले छठ पर्वको सुरक्षाका लागि आवश्यक तयारी पूरा गरिएको जानकारी दिएका छन् । उनका अनुसार भक्तजनको सुरक्षा सुनिश्चित गर्न तथा सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरी परिचालन गरिनेछ ।
छठ पर्व नजिकिएसँगै रतुवा खोला किनारमा घाट निर्माण तथा पूजा स्थल व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । दमक र आसपासका क्षेत्रबाट सयौँ परिवारले यहाँ छठ पूजा गर्ने तयारी गरेका छन् ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय झापाले पनि जिल्लाभर छठ पर्वको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई समन्वयात्मक रूपमा परिचालन गरेको जनाएको छ । सुरक्षाका लागि सादा पोसाकमा समेत प्रहरी खटाइने भएको छ ।
रातभर सञ्चालन हुने पूजामा सहभागी व्रतालु तथा भक्तजनको सुरक्षालाई ध्यानमा राख्दै चोरी, गरगहना लुटपाट, लैङ्गिक हिंसा तथा दुर्व्यवहारजस्ता गतिविधि नियन्त्रणमा विशेष सतर्कता अपनाइने प्रशासनले जनाएको छ ।
जिल्लाका केही छठघाटमा तालिमप्राप्त कुकुर तथा ड्रोनको प्रयोग गरेर निगरानी गरिनेछ । त्यस्तै, भद्रपुरस्थित छठघाटमा सशस्त्र प्रहरीले स्वास्थ्य सहायता कक्ष सञ्चालन गर्ने जनाएको छ । सम्भावित विपद् तथा आकस्मिक घटनालाई ध्यानमा राख्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीका उद्धार टोलीसमेत तयारी अवस्थामा राखिनेछन् ।
प्रशासनले छठ पर्व मनाउने क्रममा ध्वनि प्रदूषण नहुने गरी साउन्ड सिस्टम प्रयोग गर्न तथा सामाजिक सद्भाव र शिष्टता कायम राख्न सबैलाई आग्रह गरेको छ ।












