काठमाडौं । सूर्यदेवको उपासना गरी श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन आज खरना विधि मनाइँदैछ । यस अवसरमा दिनभर उपवास बसेका व्रतालुले साँझ चामल, सक्खर र दूधबाट बनाइएको खीर प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ ।
खरनाका दिन व्रतालुले नियम र निष्ठापूर्वक खीर तयार गरी सूर्यदेवलाई अर्पण गर्छन् । त्यसपछि परिवारका सदस्यसँगै प्रसाद ग्रहण गर्ने चलन छ । पर्व नमनाउने परिवार तथा छिमेकीलाई पनि प्रसाद बाँड्ने परम्परा रहेको छ ।
सन्तानको सुख, परिवारको समृद्धि र कल्याणको कामना गर्दै चार दिनसम्म मनाइने छठ पर्व शुक्रबार नहाय–खाय विधिबाट सुरु भएको हो । पहिलो दिन व्रतालुले स्नान गरी चोखो भोजन ग्रहण गरेका थिए ।
छठको तेस्रो दिन आइतबार मुख्य पूजा गरिन्छ । यस दिन व्रतालुले पूजा सामग्री जलाशय तथा नदी किनारका घाटमा लगेर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन् । यस विधिलाई साँझको अर्घ्य वा सन्ध्या अर्घ्य भनिन्छ ।
सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुनेछ । अन्तिम दिनको विधिलाई पारन भनिन्छ ।
छठ पर्वमा बाँसका ढाकी, डगरी, माटोका कोसिया, कुरबारलगायत सामग्री प्रयोग गरिन्छ । सूर्यदेवलाई ठकुवा, भुसुवा, केरा, उखु, अदुवा, बेसार तथा विभिन्न फलफूल र मिठाई चढाउने परम्परा छ ।
छठमा व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि करिब ३६ घण्टासम्म पानीसमेत नपिई उपवास बस्ने कठोर परम्परा छ । यस पर्वमा प्रसाद तयार गर्नेदेखि पूजा विधिसम्म विशेष शुद्धता र नियम पालना गरिने भएकाले छठलाई निष्ठा र कठोर साधनाको पर्वका रूपमा लिइन्छ ।
छठ पर्वको अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ ।












