काठमाडौँ । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा आराधना गरिँदैछ। चार दिनसम्म मनाइने सूर्य उपासनाको यो पर्व शुक्रबारदेखि विधिवत् रूपमा सुरु भएको हो।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वमा सूर्यदेव र छठी माताको पूजा आराधना गरिन्छ। यस पर्वमा व्रतालुहरूले कठोर नियम पालना गर्दै सूर्यलाई अर्घ्य दिने परम्परा छ।
पौराणिक मान्यताअनुसार महाभारतकालमा द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा आफ्नो गुप्तवास सफल होस् भन्ने कामनासहित सूर्यदेवको आराधना गरेका थिए। सोही समयदेखि छठ पर्व मनाउने परम्परा सुरु भएको लोकविश्वास छ।
त्यस्तै, सूर्य पुराणमा अत्रिमुनिकी पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत गरेको उल्लेख छ। व्रतको प्रभावले उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेको धार्मिक विश्वास छ।
सूर्यलाई सम्पूर्ण जीव तथा वनस्पतिको जीवनको आधार मानिन्छ। त्यसैले छठ पर्वमा सूर्यको पूजा गरी परिवारको सुख, शान्ति, समृद्धि र सन्तानको कल्याणको कामना गर्ने परम्परा रहेको छ। छठ व्रत गर्नाले दुःख, दरिद्रता तथा विभिन्न रोगबाट मुक्ति मिल्ने धार्मिक विश्वाससमेत छ।
व्रतविधि
छठ पर्वको पहिलो दिन अर्थात् कार्तिक शुक्ल चतुर्थीमा स्नान गरी शुद्ध भोजन गरेर व्रत सुरु गरिन्छ। दोस्रो दिन पञ्चमीमा सखर हालेर बनाइएको खीर अर्थात् खरना तयार गरी छठी मातालाई चढाउने र प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ।
पर्वको मुख्य दिन षष्ठीमा व्रतालुहरू निराहार व्रत बस्छन्। साँझ अस्ताउँदो सूर्यलाई नदी, पोखरी तथा जलाशयमा पुगेर पूजा आराधनासहित अर्घ्य दिने गरिन्छ।
गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका अध्यक्ष अनिल सिंहका अनुसार षष्ठीको रातभर जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् रूपमा सम्पन्न हुन्छ।
धार्मिक मान्यताअनुसार कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा छालासम्बन्धी रोगबाट मुक्ति मिल्ने विश्वास छ।
२०४६ सालअघि तराईका सीमित क्षेत्रमा मात्र मनाइने छठ पर्वले अहिले राष्ट्रिय स्वरूप ग्रहण गरिसकेको छ। पछिल्ला वर्षमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा समेत यसको रौनक बढेको छ।
छठ पर्वका अवसरमा राजधानीका गुह्येश्वरी, गौरीघाट, गहनापोखरी, नागपोखरी, कमलपोखरी तथा वाग्मती, नख्खु र विष्णुमती नदी किनारमा पूजा स्थल सजाइएको छ।
छठका व्रतालुहरू चतुर्थीदेखि नै शुद्ध र सात्विक भोजन गरी नियमपूर्वक बस्ने गर्छन्। कतिपयले कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि नै लसुन, प्याजलगायत तामसी भोजन त्यागेर चोखो खानपान सुरु गर्ने परम्परा पनि छ।
सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिन लामो छठ पर्व सम्पन्न हुन्छ।












