काठमाडौं। अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा दुई विमान आपसमा ठोक्किँदा दुई जना सामान्य घाइते भएका छन्। शनिबार राति विमानस्थलको ट्याक्सीवेमा यूपीएसको कार्गो विमान र कोपा एयरलाइन्सको यात्रुवाहक विमान ठोक्किएका हुन्। अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) का अनुसार स्थानीय समयअनुसार राति करिब ९ बजेर १५ मिनेटमा दुर्घटना भएको हो।
दुर्घटनाका क्रममा कोपा एयरलाइन्सको बोइङ ७३७ विमानको पखेटाको टुप्पो यूपीएसको बोइङ ७६७ कार्गो विमानको अगाडिको भागमा ठोक्किएको थियो। घटनामा दुई जना सामान्य घाइते भएका छन्। उद्धार टोलीले उनीहरूको घटनास्थलमै उपचार गरेको थियो। घाइतेलाई अस्पताल लैजानुपर्ने अवस्था नरहेको विमानस्थल प्रशासनले जनाएको छ।
घटना हुँदा कोपा एयरलाइन्सको विमान पानामाको राजधानी पानामा सिटीबाट मियामी आइपुगेको थियो। यता यूपीएसको कार्गो विमान भने कोलम्बियाको बोगोटातर्फ उडान भर्ने तयारीमा थियो।
एफएएका अनुसार हवाई ट्राफिक नियन्त्रकले यूपीएस विमानका चालक दललाई कोपा एयरलाइन्सको विमानलाई बाटो दिन निर्देशन दिएका थिए। तर, दुवै विमान ट्याक्सीवेमा गुडिरहेका बेला एकआपसमा ठोक्किएका हुन्।
दुर्घटनापछि विमानस्थल प्रशासनले वैकल्पिक ट्याक्सीवे प्रयोग गरी विमान आवतजावतको व्यवस्था मिलाएको थियो। घटनाका कारण विमानस्थलको समग्र सञ्चालनमा उल्लेख्य अवरोध नपुगेको अधिकारीहरूले बताएका छन्। घटनाको कारण र परिस्थितिबारे अमेरिकी संघीय उड्डयन प्रशासनले अनुसन्धान सुरु गरेको छ।












