काठमाडौं । धनुषा, विदेह नगरपालिका–२ स्थित गोबराही क्षेत्रमा शुक्रबार बिहानै तस्कर समूहसँग प्रहरीको झडप भएको छ ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार मोटरसाइकलमा अवैध सामान लुकाइछिपाइ राखिएको भन्ने सूचनाका आधारमा खानतलासी गर्दा ठूलो समूहमा रहेको तस्करहरू सुरक्षाकर्मीमाथि आक्रमणमा उत्रिएका हुन् ।

ADVERTISEMENT

सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट खटिएको टोलीले खानतलासीका क्रममा एउटा मोटरसाइल फेला पारेको थियो। नजिकै रहेको टहरोमासमेत खोजतलास गर्ने क्रममा ठूलो संख्यामा रहेका व्यक्तिहरूले घरेलु हातहतियारसहित सशस्त्र प्रहरीमाथि जाइलागेको थपाले बताए।

ADVERTISEMENT

सय–डेढ सयको संख्यामा रहेका मानिसहरूले सशस्त्र प्रहरीमाथि ढुंगामुढा प्रहार गर्दा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले १३ राउन्ड ग्यास सेल र चार राउन्ड हवाई फायरसमेत गरेको थियो । घाइते भएकाहरूमध्ये तीनजना सशस्त्र प्रहरीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लगिएको छ भने तीन जनाको अवस्था सामान्य रहेको थापाले बताए।