विराटनगर । विराटनगर महानगरपालिका–३ की २४ वर्षीया ऋचा निरौला भोटेकोशी बाढीमा परी बेपत्ता भएको ३० दिन पुगिसकेको छ। तर, यहीबीच सार्वजनिक भएको लोकसेवा आयोगको नतिजामा उनको नाम सफल उम्मेदवारको सूचीमा परेको छ।

ऋचा अपर त्रिशूली–१ आयोजनामा कार्यरत थिइन्। भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उनी सम्पर्कविहीन भएकी हुन्। आफ्नी छोरीको खबरको प्रतीक्षामा रहेको परिवारले बिहीबार लोकसेवा आयोगले सार्वजनिक गरेको सब–इन्जिनियर पदको लिखित परीक्षाको नतिजामा ऋचाको नाम देख्यो। नतिजामा उनी १२औँ क्रमसंख्यामा छिन्।

ADVERTISEMENT

ऋचाले गत असार ६ गते पहिलोपटक लोकसेवा आयोगको परीक्षा दिएकी थिइन्। पहिलो प्रयासमै लिखित परीक्षा उत्तीर्ण गरेको खबर परिवारका लागि खुसीको खबर बन्नुपर्ने थियो। तर, छोरी नै बेपत्ता रहेको अवस्थामा आएको यो नतिजाले परिवारको पीडा झनै बढाएको छ।

ADVERTISEMENT

बुबा लीलाप्रसाद निरौलाका अनुसार ऋचा पहिलो प्रयासमै लोकसेवाको परीक्षामा सफल भएकी हुन्। तीन सन्तानमध्ये ऋचा कान्छी हुन्। उनी आयोजनामा काम गर्न करिब ६ महिनाअघि मात्रै रसुवा गएकी थिइन्।

ऋचाको मोबाइलको अन्तिम लोकेसन उत्तरगया गाउँपालिका–१ स्थित तिरु आधारभूत विद्यालय आसपास देखिएको थियो। त्यसपछि उनको मोबाइल स्विच अफ छ।

परिवार भने लोकसेवामा छोरीले निकालेको नामसँगै उनको सकुशल फर्किने खबरको प्रतीक्षामा छ।