काठमाडौं । विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ। जितसँगै लुम्बिनीले लिग चरणमा शीर्ष दुईमा रहने पक्का गरेको छ।

विराटनगरले दिएको १६७ रनको लक्ष्य लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। सात खेलबाट ११ अंक जोडेको लुम्बिनी शीर्ष स्थानमा उक्लिएको छ।

ADVERTISEMENT

यो नतिजासँगै एनपीएलको प्लेअफमा पुग्ने चारै टोलीको टुङ्गो लागेको छ। लुम्बिनी र सुदूरपश्चिमसँगै काठमाडौं गोर्खाज र चितवन राइनोजले प्लेअफमा स्थान बनाएका छन्। काठमाडौं पाँच खेलबाट आठ अंकसहित तेस्रो र चितवन ६ खेलबाट सात अंकसहित चौथो स्थानमा छन्।

ADVERTISEMENT

सातवटै खेल खेलिसकेको विराटनगर भने ६ अंकसहित पाँचौँ स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ। कर्णाली याक्स, जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेका थिए।

लुम्बिनीलाई जितका लागि अन्तिम दुई ओभरमा ३२ रन आवश्यक थियो। १९औँ ओभरमा सन्दीप जोराले इसुरु उडानालाई दुई छक्का र एक चौका प्रहार गर्दै १७ रन जोडेपछि खेल रोमाञ्चक बनेको थियो।

अन्तिम ओभरमा १६ रन चाहिएको अवस्थामा अली शेखले रुपेश सिंहको पहिलो बलमा छक्का प्रहार गरे। उक्त बल नो बल भएपछि उनले फ्रि हिटमा थप दुई रन लिए। त्यसपछि दोस्रो र तेस्रो बलमा अली तथा सन्दीपले एक–एक रन जोडे।

चौथो बलमा अली शेख क्याचआउट भए। लुम्बिनीलाई अन्तिम दुई बलमा पाँच रन आवश्यक हुँदा रुबेन ट्रम्पलम्यानले रुपेश सिंहको पाँचौँ बलमा छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए।

लुम्बिनीका लागि ओपनर डार्शी सर्ट र आसिफ शेखले समान ४५ रन बनाए। उनीहरूले पहिलो विकेटका लागि ११.५ ओभरमा ८६ रनको साझेदारी गरेका थिए। दुवै आउट भएपछि लुम्बिनीले लगातार विकेट गुमायो।

निरोशन डिकवेला र दिलीप नाथ शून्यमा आउट भए भने कप्तान रोहित पौडेल नौ रन बनाएर रनआउट भए। विराटनगरका अपराजित पौडेलले १३औँ ओभरमा डिकवेला र नाथलाई लगातार आउट गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए।

एनपीएलमा डेब्यु गरेका अली शेख र सन्दीप जोराले छैटौँ विकेटका लागि ४२ रनको महत्त्वपूर्ण साझेदारी गरे। अलीले १९ बलमा एक चौका र दुई छक्कासहित २७ रन बनाए। जोराले ११ बलमा एक चौका र तीन छक्काको मद्दतमा अविजित २५ रन जोडे।

विराटनगरका अपराजित पौडेलले दुई विकेट लिए भने चरिथ असलंकाले र रुपेश सिंहले एक–एक विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १६६ रन बनाएको थियो। उसका लागि चरिथ असलंकाले सर्वाधिक ६४ रन बनाए। उनले ४३ बलमा एक चौका र छ छक्का प्रहार गरे।

शुभम रन्जानेले २४ बलमा चार चौकासहित अविजित ३१ रन जोडे। इमरान शेख २४ रन बनाएर रिटायर्ड हर्ट भए भने लोकेश बमले १५ रन बनाए। शेहान जयसूर्या एक र इसुरु उडाना छ रनमा आउट भए।

७० रनको अवस्थामा इमरान रिटायर्ड हर्ट भएपछि क्रिजमा आएका रन्जाने र असलंकाले मिलेर ७५ रनको साझेदारी गरेका थिए।

लुम्बिनीका किशोर महतो, रुबेन ट्रम्पलम्यान र अभिषेक गौतमले एक–एक विकेट लिए। किशोरले चार ओभरमा २४ र अभिषेकले तीन ओभरमा १५ रन खर्चिए। ट्रम्पलम्यानले भने चार ओभरमा ५२ रन दिएका थिए।