काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानभित्र क्रिकेटको रौनक बढाएको छ भने मैदानबाहिर साना व्यापारीका लागि आम्दानीको अवसर पनि सिर्जना गरेको छ। खेल हेर्न आउने दर्शकको चहलपहलले चटपटे, चाउचाउ, बिस्कुट र पानी बेच्ने व्यापारीको व्यापारमा केही सुधार ल्याएको छ।
मैदानबाहिर करिब एक वर्षदेखि खुद्रा सामान र चटपटे बेच्दै आएकी कुमारीका लागि एनपीएल ग्राहक बढाउने अवसर बनेको छ। उनको सानो पसलमा खेल हेर्न आउने दर्शक मुख्य ग्राहक हुन्। तर, दर्शकको भीड बढे पनि हरेक दिन व्यापार उस्तै हुँदैन।
एनपीएल सुरु भएको पहिलो दिन तीनदेखि चार हजार रुपैयाँसम्मको व्यापार भएको उनी सुनाउँछिन्। त्यसपछिका दिनमा भने व्यापार घटबढ भइरहेको छ। कहिलेकाहीँ दिनभरमा तीन–चार सय रुपैयाँको मात्रै व्यापार हुने गरेको उनको भनाइ छ।

‘हिजोआज अलिक व्यापार बढेको छ,’ कुमारीले भनिन्, ‘कुनै दिन राम्रो हुन्छ, कुनै दिन व्यापार नै हुँदैन।’
उनको पसलमा चटपटे, बिस्कुट, चाउचाउ, फ्रुटी र पानी पाइन्छन्। खेल हेर्न आएका दर्शकले विशेषगरी चटपटे र पानी किन्ने गरेका छन्। दर्शकको आवागमन बढ्दा ग्राहक पाउन सहज भए पनि बिक्री र आम्दानी निश्चित छैन।
कुमारीका लागि यो व्यापार अतिरिक्त आम्दानीको स्रोत मात्र होइन, दैनिक गुजारा चलाउने आधार हो। दिनभर सामान बेचेर कमाएको पैसाबाटै उनले अर्को दिनका लागि सामान किन्नुपर्छ। घरको खानेकुराको जोहो पनि त्यही आम्दानीबाट गर्नुपर्छ।
‘यहाँ व्यापार भएन भने बेलुका गएर तिहुन–तरकारी खाने बाटो हुँदैन,’ उनले आफ्नो बाध्यता सुनाइन्, ‘त्यही पैसाले सामान ल्याउनुपर्छ, त्यही पैसाले घरमा खाने बाटो गर्नुपर्छ।’
एनपीएलले क्रिकेटप्रतिको आकर्षणसँगै मैदान वरपरको आर्थिक गतिविधिलाई पनि चलायमान बनाएको छ। खेल हेर्न आउने दर्शकले मैदानबाहिरका साना पसलबाट खाजा र पेय पदार्थ किन्ने हुँदा कुमारीजस्ता व्यापारीले पनि त्यसको लाभ लिन पाएका छन्।
तर, केही दिनको राम्रो व्यापारले मात्रै उनीहरूको आर्थिक अनिश्चितता हटेको छैन। दर्शकको चाप घट्नेबित्तिकै बिक्री पनि घट्न सक्छ। त्यसैले उनीहरूको आम्दानी खेलको भीड र दैनिक ग्राहकको संख्यासँग जोडिएको छ।
मैदानभित्र खेलाडीहरू जितका लागि प्रतिस्पर्धा गरिरहँदा मैदानबाहिर कुमारीजस्ता साना व्यापारी भने दिनभरको कमाइबाट घरखर्च र भोलिको व्यापारको जोहो गरिरहेका छन्। एनपीएलको रौनक उनीहरूका लागि मनोरञ्जनसँगै जीविकोपार्जनमा केही राहत दिने अवसर बनेको छ।









